+
+

टाइफाइड खोप लगाएका दुई बालबालिका अस्पताल भर्ना, अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते २०:०७
टाइफाइड विरुद्धको खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

१६ चैत, काठमाडौं । नेपालमा टाइफाइड खोप (टीसीभी) लगाइएपछि दुई जना बालबालिका बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ ।

तर, ती बालबालिकामा खोप अथवा अन्य कारणले असर भएको हो यकिन गर्न सरकारले अनुसन्धान गरिरहेको छ ।

दक्षिण एसियाका राष्ट्र मध्ये अभियानको रुपमा नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई २५ चैतदेखि टाइफाइड खोप दिन सुरू गरिएको थियो ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले दुई जना बालबालिकामा गम्भीर खालको समस्या देखिएको रिर्पोट प्राप्त भएको जानकारी दिए ।

‘दुई जना बालबालिमा खोप लगाएको केही घण्टापछि बेहोस भएको र हातखुट्टा कमजोर भएको भन्ने विवरण आएको छ । अहिले ती बालबालिका अस्पताल भर्ना भएका छन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको छ,’ डा. लालले अनलाइखबरसँग भने । ती बालबालिका कान्ति बाल अस्पतालमा उपचाररत छन् ।

खोप लगाएका धेरैजसो बालबालिकामा सामान्य लक्षण देखा परेको डा. लालले बताए । विज्ञहरुका अनुसार खोप लगाएका लाखौँ जनामध्ये केहीलाई गम्भीर लक्षण पनि देखिनसक्छ । ‘जुनसुकै खोपले पनि साधारण असर देखा पर्छ । खोप लगाए पश्चात ज्वरो आउने, सुन्निने, बान्ता हुने लगाएको लक्षण देखा पर्न सक्छ,’ डा. लालले भने, ‘सामान्य असरहरू सबैखाले खोपका हुन्छन् । ढुक्कसँग लगाउँदा हुन्छ ।’

पछिल्ला दिनमा कान्ति बाल अस्पतालमा दैनिक १० देखि १५ जनासम्म खोप लगाएपछि ज्वरो आएका बालबालिका आइरहेका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले टाइफाइड खोप लगाउन सुरु भएपछि ज्वरो आएका बालबालिका अस्पताल आउने संख्या बढेको बताए । उनका अनुसार ओपीडीमा दैनिक ८ सयदेखि १ हजारको हाराहारीमा बालबालिका आउने गरेका छन् ।

खोप लगाएपछि लक्षण देखिनु सामान्य, ढुक्क भएर खोप लगाउन आग्रह

‘हाल दैनिक १० देखि १५ जना टाइफाइडको खोप लगाएपछि उच्च ज्वरो आएर बालबालिका अस्पताल आएका छन्,’ डा. बसौलाले भने, ‘तर, त्यस्ता लक्षणलाई सामान्य रूपमा लिनुपर्छ ।’

यसविषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य सगंठन (डब्लूएचओ) लाई पनि जानकारी गराएको डा. बसौलाले बताए ।

‘अन्य कुनै रोगका कारण कतिपय असर देखिनसक्छ । खोप नै गर्यो भनेर यकिन साथ भन्न सकिँदैन । बालबालिकाको उपचार भइरहेको छ । रिर्पोट नआएसम्म केही भन्न सकिँदैन,’ डा. बसौलाले भने ।

टाइफाइड खोप क्निकल ट्रायल पास भएर आएको र विश्व स्वास्थ्य संगठनबाट प्रयोग अनुमति लिइसकेकाले ढुक्कसँग लगाउन डा.लालले आग्रह गरे ।

अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिका समेटिने सरकारको लक्ष्य छ । जसमध्ये करिब दुईतिहाइ जतिले खोप पाइसकेको विवरण उपलब्ध भएको महाशाखाले जनाएको छ ।

परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि हुने गरेको छ । त्यसमध्ये कम्तीमा एक हजार मानिसहरूको उक्त रोगका कारण निधन हुने गर्छ ।

 

मृत्यु हुनेमध्ये ६० प्रतिशत बालबालिका हुने गरेका छन् । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड चौथोमा पर्ने देखिएको छ ।

टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेख्य कमी ल्याउन सकिने पुष्टि भएको भन्दै राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो नेपाल । यो सँगै नेपालले टाइफाइड खोपलाई नियमित खोपको रुपमा प्रयोग गर्ने जनाएको छ ।

टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?