
१६ वैशाख, काठमाडौं । पर्यटन पुनरुत्थान प्राविधिक समितिले नेपालमा पर्यटक आउने उत्कृष्ट १० मुलुकमा रहेको नेपाली दूतावासमा पर्यटन क्षेत्र हेर्न छुट्टै अधिकारी राख्न सुझाव दिएको छ ।
समितिले आफ्नो प्रतिवेदन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । सो प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकस्थित नेपाली दूतावासमा पर्यटन अधिकारी नियुक्त गर्न सुझाव दिइएको हो ।
समितिले पर्यटन सेवा प्रदायक र पर्यटनसँग सम्बन्धित सबैबाट कुनै पनि आपतकालिन मामिलाको जवाफ दिन २४ सै घण्टा, सातै दिन उपलब्ध हुने गरि क्वीक रेस्पोन्स टीम मन्त्रालयमा खडा गर्न समेत सुझाव दिएको छ ।
बढ्दो पर्यटन बजार भित्र आतिथ्य सेवा क्षेत्रमा आवश्यक जनशक्ति स्थापना गर्न नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमीको सहकार्यमा सात वटै प्रदेशमा पर्यटन तालिम केन्द्र स्थापना गर्न समेत समितिले सुझाव दिएको छ ।
नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तिलाई विभिन्न देशमा पर्यटन सदभावना दूत नियुक्त गर्ने, नेपालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विगतमा योगदान पुर्याएका सेलिब्रेटी, पर्वतारोही र खेलाडीलाई नेपाल भित्राउन समेत सुझाव दिइएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलका सबै आगमन विन्दुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयमःसेवक नियुक्त गर्न समेत सुझाव दिइएको छ । स्वच्छ, सफा, हरियालीमा स्थानीय तहसँगको सहकार्यमा देशभरका पर्यटकीय क्षेत्र सरसफाई अभियान चलाउन समेत समितिले सुझाव दिएको छ ।
कार्यक्रममा समितिका संयोजक राजा राम गिरीले कोभिड १९ का कारण पर्यटन क्षेत्र अफ्ठयारोमा परेको अवस्थामा समिति गठन भएको बताए । सो अवसरमा पर्यटन मन्त्री प्रेम आलले प्रतिवेदनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोगी हुने बताए । उनले आन्तरिक उडानका वायुसेवा कम्पनीलाई स्वदेशी र विदेशी पर्यटकलाई भाडामा विभेद नगर्न आग्रह गरे ।
प्रतिक्रिया 4