
१६ वैशाख, काठमाडौं । रुसी आक्रमणविरुद्ध युद्ध लडिरहेको युक्रेनबाट जारी वसन्त ऋतुमा एक महिला आरोहीले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने भएकी छिन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म यो सिजनमा सगरमाथा चढ्न ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
जसमध्ये युक्रेनबाट एक आरोही (महिला)को मात्र अनुमति जारी भएको विभागले जजाएको छ । यो सिजन रुस-युक्रेन युद्धका कारण कम मात्र यूरोपेली पर्वतारोही आरोहणमा आउने अनुमान गरिएको थियो ।
तर, यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् ।
सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् ।
४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् । भारतबाट २३ जनाले अनुमति लिएकोमा ८ जना महिला रहेको विभागको तथ्यांक छ ।
२५ हिमालमा ८९९ लाई अनुमति
विभागका अनुसार शुक्रबारसम्म २५ वटा हिमालमा आरोहण अनुमति जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै सगरमाथामा छन् । यो सिजन ११ समूहका ८९९ आरोहीले विभिन्न हिमालमा चढ्न अनुमति लिएका हुन् ।
सगरमाथामा ३९ समूहका ३१६ जना आरोही जाने छन् । ल्होत्से हिमालमा ११२ जना आरोही जाँदैछन् । अमादब्लममा ९७, कंचनजंघामा ६८, नुप्त्सेमा ५७ र धौलागिरिमा २७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
यसरी आएका आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना आएका छन् । बेलायतबाट १०६ आरोहीले अनुमति लिएका छन् ।
४६ करो८ ७५ लाख रोयल्टी संकलन
हिमाल आरोहणमा जाने पर्वतारोहीबाट शुक्रबारसम्म कुल ४६ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । रोयल्टी आउने सबैभन्दा ठूलो हिमाल सगरमाथा हो ।
सगरमाथाबाट यो सिजनमा ३९ करोड ५५ लाख रुपैयाँ रोयल्टी उठिसकेको छ । रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ ।
किनकी अन्य सिजनमा कम आरोही आउने भएकाले सरकारले रोयल्टीमा छूट दिएको हुन्छ ।
प्रतिक्रिया 4