
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू निर्वाचित भए महानगरलाई भ्रष्टाचारमुक्त बनाउने बताएकी छन् ।
शनिबार नेपाली कांग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समितिले गरेको अन्तर्क्रिया कार्यक्रममा उनले काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने आफ्नो चाहना रहेको बताएकी हुन् ।
उम्मेदवार सिंहले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनुपर्नेछ’ उनले भनिन् ।
सिंहले आफूले मेयरको उम्मेदवार बनाउन दबाव नदिएको बताइन् । ‘सधैंभरि आरक्षण कोटामा मात्रै महिला बस्नुपर्ने ? अब मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सिर्जना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौंले मलाई प्रस्ताव गरेको हो । त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो । नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दवाव आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो’ उनले भनिन् ।
गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवार नभएको सिंहको भनाइ छ ।
प्रतिक्रिया 4