
१७ वैशाख, धनगढी । अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एमालेबाटै फुटेको एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।
मेल्लेखमा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।
दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ ।
समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
८ वटा वडा रहेको मेल्लेखमा एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा सहमति गरेका छन् । तर वडाध्यक्षमा मनोनयन दर्ता गरेका दुवै पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
मेल्लेख नेकपा एमालेका प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र एकीकृत समाजवादीकी प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री मनाकुमारी साउदको गाउँपालिका हो ।
एमालेका प्रदेश कमिटी सदस्य जैसीले एकीकृत समाजवादीको प्रस्तावअनुसार आन्तरिक सहमतिका आधारमा गठबन्धन गरिएको बताए । अछाम एमाले नेता भीम रावलको गृह जिल्ला हो ।
प्रतिक्रिया 4