
काठमाडौं । अहिले विवाहको मौसम चलिरहेको छ । विवाहका पहिरनका लागि बुटिक र टेलरहरुमा धाउनेको संख्या बढेको छ ।
दुलाहा-दुलहीको पहिरनमा अहिले विकल्प देखिन्छन् । कुनै समय थियो, त्यसबेला अधिकांश बेहुला सुटमा सजिएका हुन्थे । बेहुलीहरूका लागि भने लेहेङ्गा, साडी लगायतका विकल्प थिए । अहिले बजारमा दुलाहाका लागि पनि नयाँ नयाँ शैलीका पहिरन उपलब्ध छन् ।
विवाहमा दुलाहाको लागि कस्तो पहिरन बढी प्रचलनमा छ ? दुलाहाको उमेर अनुसार कस्तो डिजाइन बढी उपयुक्त हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर काठमाडौंको बागबजारस्थित श्रेष्ठ टेलरिङका सञ्चालक विनोद श्रेष्ठसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :
विवाहमा अहिले दुलाहाका लागि कस्तो पहिरन बढी प्रचलनमा छ ?
अहिले दौरा सुरुवाल नै बढी चलेको छ । केहीले सुट पनि रुचाउँछन् भने तराईका केही ठाउँमा शेरबानी पनि प्रचलनमा छ ।
विभिन्न प्रकारका बुट्टा प्रिन्ट भएका सिल्कको कपडामा विभिन्न डिजाइन गरेर तयार पारिएको दौरा सुरुवाल दुलाहाका लागि धेरै रुचाइएको छ । सल टोपी र जुत्ताको सेट मिलाएर डिजाइन गरेको दौरा सुरुवाल बढी प्रचलनमा छ । सुटमा भने अहिले चेक र अलि डार्क कलर बढी रुचाइएको छ ।
वर्ण र समुदाय अनुसार पनि शरीरको रुपरंग फरक हुन्छ, उनीहरू सबैलाई एकैनासको डिजाइन सुहाउँछ ?
सबै जनालाई एकैनासको पहिरन सुहाउँदैन । सबैको आफ्नो रोजाइ पनि हुन्छ । वर्ण तथा समुदाय हेरेर डिजाइन नै परिवर्तन गर्नुपर्ने हुन्छ । अहिले प्रायः सबै जातजातिका दुलाहाहरूले दौरा सुरुवाल नै मन पराउने भएकाले उनीहरूको वर्ण हेरेर डिजाइन गरिन्छ ।
यदि दुलाहा गोरो वर्णका छन् भने कस्तो रंग सुझाउनुहुन्छ ?
दुलाहा गोरो वर्णका छन् भने गोल्डेन कलरमा क्रिम कलरको दौरा सुरुवाल लगाउन सुझाव दिन्छु । सेतो वर्णका दुलाहाहरूलाई सुट भने अलि डार्क कलर जस्तै मरुन्, हरियो र निलो कलर सुहाउँछ ।
गहुँगोरो वा कालो वर्णका दुलाहाका लागि नि ?
गहुँगोरो र कालो वर्णका दुलाहाका लागि सेतोमा गोल्डेन बुट्टा गरेको दौरा सुरुवाल बढी सुहाउँछ । गहुँगोरो दुलाहालाई अलि लाइट कलर ग्रे सुटले अझै आकर्षक देखिन्छ ।
धेरै अग्ला दुलाहा छन् भने उनको लागि कस्तो डिजाइन उपयुक्त हुन्छ ? यसैगरी होचो कद भएकालाई कस्तो सुहाउँछ ?
दुलाहा अग्लो छन् भने उनीहरूको धेरै डिजाइन उपलब्ध हुन्छन् । अग्लो दुलाहाका लागि फिटिङ दौरा सुरुवाल र सुट सुहाउँछ । होचो कद भएकालाई भने धेरै फिटिङ भन्दा पनि अलि लुज डिजाइनका पहिरन सुहाउँछ । अग्लोहरूलाई चेक लाइन पेल्न सबै प्रकारका सुटले सुहाउँछ । तर होचोका लागि भने प्लेन सुट बढी सुहाउँछ ।
उमेर अनुसार पनि दुलाहाको पहिरनको डिजाइन फरक हुनसक्छ ?
उमेर अनुसार दुलाहाको रोजाइ फरक हुने भएकाले डिजाइन पनि फरक हुन्छ । २० देखि ३० वर्ष उमेर समूहका दुलाहाले अलि रङ्गीचङ्गी डिजाइन रुचाउँछन् भने ३० वर्ष भन्दा माथिका दुलाहाले सामान्य डिजाइन बढी रुचाउँछन् । ३० वर्ष भन्दा कम उमेरका दुलाहा दौरा सुरुवाल र सुटको कलर पनि डार्क रुचाउँछन् । ३० वर्ष भन्दा माथिकाहरुले भने अलि लाइट कलर रुचाउँछन् ।
अक्सर विवाह गर्ने उमेर ३०–३५ वर्षको देखिन्छ, यस उमेर समूहका लागि कस्तो डिजाइन उपयुक्त हुनसक्छ ?
३० देखि ३५ उमेर समूहका दुलाहालाई टक्सिन डिजाइन र वेस्टकोट डिजाइन उपयुक्त हुन्छ । प्लेन, चेक अलि लाइट कलरको कपडामा पनि सिम्पल डिजाइन बढी उपयुक्त हुन्छ । दौरा सुरुवालमा सुहाउने कोट पनि यो उमेर समूहका दुलाहालाई सुहाउँछ ।
कोट पाइन्ट वा दौरा सुरुवाल दुलाहाको लागि कुन सही हुनसक्छ ?
कोट पाइन्ट र दौरा सुरुवाल दुवै चलेको छ । एकपटक गर्ने विवाह हो, मलाई त फरक नै देखिनु छ वा बेहुलीको साडीसँग म्याचिङ गरौं भन्नेहरूका लागि दौरा सुरुवाल सही हुन्छ । तर दौरा सुरुवाल एकपटक प्रयोग गरेपछि दोस्रो पटक प्रयोगमा आउँदैन । त्यसैले विवाह पछि पनि प्रयोग गर्न मिल्ने हिसाबले हेर्ने हो पनि सुट पनि उपयुक्त नै हुन्छ ।
दुलाहाको पहिरनमा के कस्ता एक्सेसरिजहरु प्रयोग गर्न सकिन्छ ?
दुलाहाको पहिरन दौरा सुरुवाल हो भने माला, खुकुरी, टोपीमा राख्ने प्वाँख र ब्रोचहरु प्रयोग गर्न सकिन्छ । सुटमा ब्रोच, पकेट रुमाल र टाइ प्रयोग गरिन्छ ।
प्रतिक्रिया 4