
१८ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न विषयको भर्ना प्रक्रिया सुरु नगर्दा विद्यार्थी अन्योलमा परेका छन् ।
आयोगले अहिलेसम्म म्याचिङ प्रणालीको आवेदन नखुलाएको, शैक्षिक शुल्क र कलेजको सिट संख्या नतोक्दा विद्यार्थी अन्योलमा परेको बताउँछन् ।
आयोगले गएको चैत १८, २० र २१ गते चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी चैत २३ र २६ गते नतिजा सार्वजनिक गरेको थियो ।
नतिजा सार्वजनिक भएको तेस्रो साता बित्दा पनि आयोगले म्याचिङ प्रणालीका लागि आवेदन खुलाएको छैन । त्यस्तै शैक्षिक शुल्क र कलेजको लागि सिट संख्या समेत तोकेको छैन ।
यतिबेलासम्म विद्यार्थीको सम्बन्धित मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु भइसक्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भइरहेको आयोगले जनाएको छ ।
सिट निर्धारण सिफारिस समितिले गएको चैत १ गते नै आयोगलाई सिफारिस गरेको जनाएको छ । समितिको सिफारिस आयोगको कार्यकारी समितिले पारित गरेपछि लागू हुन्छ ।
सीटीइभीटीको कार्यक्रम र विश्वविद्यालयका कार्यक्रमहरु सञ्चालन गर्ने कलेजहरु नछुट्टिएको कारण सिट संख्या तोक्न समस्या भइरहेको आयोगले जनाएको छ ।
आयोगले गत चैत ९ गते विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो ।
तर कलेजहरुले अझैसम्म सूचना नदिएका कारण सिट संख्या तोक्न समस्या भईरहेको आयोगका सदस्य सचिव डा.भोजराज काफ्ले बताउँछन् । उनले भने ‘सीटीइभीटीको कार्यक्रम र विश्वविद्यालयका कार्यक्रमहरु डुप्लिकेसन भएका छन् । त्यो स्पष्ट नहुँदा सिट संख्या तोक्न समस्या भइरहेको छ ।’
आयोगले भर्ना प्रक्रियाका लागि केही पनि नगर्ने र सूचना पनि जारी नगर्दा विद्यार्थी अलमलमा परेको बताउँछन् । एमबीबीएसकी छात्रा विद्या राउत केही कारणले ढिला हुने हो भने आयोगले सूचना जारी गर्नुपर्ने बताउँछिन् ।
भन्छिन् ‘हामी कत्ति मेहेनत गरेर परीक्षा दिएका हुन्छौं । पास पनि गरेका छौं । अब कुन कलेजमा पर्छु अथवा कति शुल्क तिर्नुपर्ने हो भन्ने जान्न हतार हुन्छ । तर आयोगले न सूचना निकाल्छ, न शुल्क तोक्छ ।’
आयोगले काममा लापरवाही गरेको बीडीएस पढ्न तयार रहेका सुलभ डांगी बताउँछन् । उनी भन्छन् ‘हामीलाई त नाम निकालेपछि भर्ना प्रक्रियामा जान मन लाग्छ नि । भर्ना प्रक्रियाको लागि केही गर्दैन । सूचना हेर्दा पनि केही नदेखेपछि फोन गर्दा राम्रोसँग बताइन्न । कहिले फोन नै उठ्दैन । कम्तीमा सूचना निकाले त हामीलाई पनि ढुक्क हुन्थ्यो ।’
आयोगले भने मंसिरमा भर्ना भएका विद्यार्थीहरुको पहिलो वर्षकै पढाइ भइरहेकोले नयाँ विद्यार्थी पठाउँदा कतिपय सरकारी शिक्षण संस्थामा पढ्ने ठाउँको अभाव हुने देखिएकोले हतार नगरेको जनाएको छ ।
आयोगका सदस्य सचिव डा. काफ्लेले भने,‘यूजी, एमबीबीएसहरुको पढाइ मंसिरबाट सुरु भएको छ । उनीहरु सेकेन्ड इयर नगई त फस्र्ट इयर पढ्ने ठाउँ खाली नहुने भो । अहिले विद्यार्थी पठाउँदा कतिपय सरकारी शिक्षण संस्थामा पढ्ने ठाउँको समस्या हुने देखियो । त्यसैले हतार गर्न नगरेका हौं ।’
प्रधानमन्त्रीको व्यस्तताले ढिलाइ !
चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक शुल्क अझै तोकिएको छैन । सामान्यतया परीक्षाको नतिजा आउन अघि तोकिने शुल्क विद्यार्थी भर्ना गर्ने बेला भइसक्दा पनि आयोगले शुल्क तोक्न सकेको छैन ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले शुल्क निर्धारण गर्नुपर्ने तर प्रधानमन्त्रीको व्यस्तताले बैठक बस्न नसकेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताए ।
उनले भने ‘हो शुल्क तोक्न ढिलो भइरहेको छ । यो प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले शुल्क निर्धारण गर्छ । तर, प्रधानमन्त्रीज्यूको व्यस्तताले शुल्क तोक्नको लागि बैठक बसेर फी निर्धारण हुन सकेको छैन ।’
अहिले स्थानीय तहको निर्वाचनको लागि प्रधानमन्त्री व्यस्त भएकोले चुनावपछि मात्रै हुनसक्ने काफ्लेले बताए । उनले भने, ‘विविध कारणले कहिलेदेखि विद्यार्थी कक्षामा जाने, शुल्क कत्ति हुने लगायतका काम हुन सकिरहेको छै अब सम्भवत स्थानीय तहको चुनावपछि मात्रै हुन्छ होला ।’
आयोगले चिकित्सा शिक्षामा स्नातकका विभिन्न विषयमा साढे आठ हजार सिटका लागि सञ्चालन गरेको परीक्षाका लागि करिब साढे ३५ हजार विद्यार्थीले आवेदन दिएका थिए ।
प्रतिक्रिया 4