
१८ वैशाख, काठमाडौं । वैशाख पहिलो साता केही घटेको इन्धनको खरिद लागत मूल्य तेस्रो सातामा पुनः महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने देखिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
‘१ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो तर आजको मूल्य अनुसार १५ दिनको घाटा ५ अर्ब १९ करोड पुग्ने भयो’ निगमका सहप्रवक्ता कार्कीले भने ।
आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको कार्कीले बताए । यस्तै मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ भने खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो भएको कार्कीको भनाइ छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमको दाबी छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ ।
स्थानीय तह निर्वाचनको मुखैमा रहेका कारण निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न सकेको छैन । प्रतिलिटर दुई रुपैयाँसम्म आफैं निर्णय गर्न सक्ने अधिकार भए पनि निगम नेतृत्वले निर्णय लिन नसक्दा निगमको वित्तीय अवस्था संकटतर्फ धकेलिएको छ । तेल खरिद बापत भारतीय आयल निगमलाई मे महिनामा बुझाउनु पर्ने १० अर्ब रुपैयाँ भन्दा बढी रकमको स्रोत अझै सुनिश्चित नभएको निगमले जनाएको छ ।
प्रतिक्रिया 4