
काठमाडौं । अभिनेता प्रदीप खड्का अहिले फरक विषयले चर्चामा छन् । आसन्न स्थानीय तहको चुनावलाई लिएर उनी ट्रोल भइरहेका छन् ।
प्रदीप नेकपा एमाले प्रवेश गरेको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एमालेबाट ललितपुर महानगरपालिका–१३ को वडाध्यक्षका उम्मेदवार निरन केसीले प्रदीप र आफ्नो तस्वीरलाई प्रोफाइल बनाएर पोस्ट गरेपछि यस्तो चर्चा चलेको हो ।
वडाध्यक्षका उम्मेदवार मात्र होइन, सदस्यका अन्य दुईजना उम्मेदवारले समेत प्रदीपसँग फोटो खिचाएर सेयर गरिरहेका छन् । वडाध्यक्षका उम्मेदवारले नै प्रदीपको फोटोलाई प्रोफाइल बनाएर सेयर गरेपछि ‘प्रेमगीत’ फेम्ड हिरो एमाले प्रवेशको चर्चा चलेको हो ।
तर अहिले मुम्बईमा रहेका प्रदीपले चाहिं आफ्नो घरमा भोट माग्न आउँदा तस्वीर खिचाएको बताएका छन् । प्रदीप पनि ललितपुर–१३ कै बासिन्दा हुन् । विज्ञापन छायांकनका लागि नेपाल आएका उनी शुक्रबार मुम्बई फर्किएका थिए ।
प्रदीप एमाले प्रवेश गरेका हुन् वा वडाध्यक्षले हिरोसँगको तस्वीरलाई प्रोफाइल फोटो बनाउनु चुनावी संयोग मात्र हो ? यसबारे खुलासा हुँदै जाला ।
प्रतिक्रिया 4