
१९ वैशाख, विराटनगर । मोरङको जहदा गाउँपालिका–७ को वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यनारायण मण्डल अहिले चर्चामा छन् । उनी चर्चामा रहनुको कारण हो उनको उमेर । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बनेका मण्डलको उमेर ९४ वर्ष उल्लेख गरेको छ ।
निर्वाचन आयोगले देशभरका उम्मेदवार मध्ये उनलाई ज्येष्ठ उम्मेदवार बताएको थियो । तर वास्तविकता भने फरक छ । नागरिकताका आधारमा उनको उमेर ६३ वर्ष मात्रै हो । मतदाता परिचय पत्रमा गलत जन्म मिति भएका कारण उनको उमेर बढी देखिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय जहदा गाउँपालिकाका प्रमुख पदम वस्तीका अनुसार मण्डलको नागरिकतामा उमेर ६३ वर्ष देखिन्छ । मतदाता परिचय पत्रमा भने उनको उमेर ९४ वर्ष उल्लेख छ । मतदाता परिचय पत्रमा १९८४ जन्म भएको उल्लेख छ । नागरिकतामा भने उनको जन्ममिति २०१६ साल उल्लेख छ ।
‘मतदाता परिचय पत्रमा एउटा उमेर र नागरिकतामा अर्काे उमेर रहेछ,’ वस्तीले भने, ‘निर्वाचन आयोगको सिस्टमले ९४ वर्ष देखायो, नागरिकताका आधारमा ६३ वर्ष देखाउँछ ।’
निर्वाचन आयोगले नागरिकताको जन्म मितिका आधारमा मतदाता परिचय पत्र बनाउँछ । मण्डलको मतदाता परिचय पत्र बनाउँदा उमेर फरक परेको हुनसक्ने उनले बताए ।
प्रतिक्रिया 4