
१९ वैशाख, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार आदर्श टोलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसबाट नगरपालिकाकाे मेयर उम्मेदवार ललन गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाका सबै महिलालाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ । सेनेटरी प्याडको उद्योग समेत सञ्चालन गरी महिला स्वास्थ्य स्वयंसेविकालाई आयआर्जनमा निर्भर बनाउने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, गर्भवती तथा सुत्केरी महिलालाई मासिक पोषण भत्ता उपलब्ध गराउने उल्लेख छ ।
सडकका प्रत्येक चोकमा सोलार बत्ति जडान गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने, फ्री वाइफाइ जडान गर्ने, उच्च शिक्षाका लागि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको उच्च शिक्षामा पहुँच पुर्याउन विशेष योजना ल्याउने उल्लेख छ । एक वर्षभित्रमा दुई वटा उद्योग स्थापना गर्नेगरी रोजगारी सृजना, सीपमूलक तालिमको आयोजना गर्ने समेत उल्लेख छ ।
प्रतिक्रिया 4