
सिराहाको लाहान स्थित जेएस मुरारका क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नबिल बैंकसँगको सहकार्यमा नेपाल राष्ट्र बैंक, हिमालय टेलिभिजन र अनलाइनखबर डटकमकाे संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका निर्देशक निश्चल अधिकारीले आममानिसको जीवनस्तर उकास्न र दैनिकी सहज बनाउन डिजिटल बैंकिङले ठूलो टेवा पुर्याउने बताए । तर यसकाे प्रयोग गर्न नजान्दा वा यस विषयमा ज्ञान नराखि सुनेको भरमा प्रयोग गर्दा सजिलै ठगिन सक्ने भएकाले वित्तीयसँगै विद्युतीय साक्षरता पनि उत्तिकै आवश्यक रहेको बताए ।
राष्ट्र बैंक जनकपुरकी निर्देशक निरा ताल्चाभडेलले वित्तीय साक्षरता बढाउन यस्ता कार्यक्रम निकै महत्वपूर्ण रहेको बताइन् । यस्ता कार्यक्रमका लागि राष्ट्र बैंकको तर्फबाट सधैं सहयाेग हुने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
नबिल बैंकका मधेस प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले बैंक र यसले दिने सेवा सुविधा, डिजिटल माध्यमबाट कारोबार गर्ने तरिका र यसले पुर्याउने सहजताबारे सबै नागरिकमा चेतना हुनु जरूरी रहेकाे बताए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ लाहानका अध्यक्ष अशोकलाल अमात्यले शिक्षकहरूमा समेत वित्तीय चेतना जरूरी रहेकाे बताए । कितावी पाठमा मात्रै नभएर वित्तीय चेतना व्यवहारिक बनाउन पर्ने उनकाे धारणा छ ।
कार्यक्रममा वित्तीय चेतना हुने हो भने चेक बाउन्स तथा विद्युतीय बैंकिङ अपराधमा समेत कमी आउने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
क्याम्पस प्रमुख तुलसीराम पोखरेलले वित्तीय क्षेत्रबारे थाहा पाउनैपर्ने कुराहरु कार्यक्रमबाट जान्ने अवसर पाएको बताए ।
कार्यक्रमबाट बैंक तथा वित्तीय क्षेत्र र यसबारे साक्षर हुनुको आवश्यकताबारे जान्न पाउदा धेरै खुसी लागेको र आफुले जानेको कुराबारे परिवार र साथीहरुलाई समेत जानकारी दिने कार्यक्रमका सहभागी विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया 4