
२० वैशाख, नुवाकोट । नेकपा माओवादी केन्द्रबाट नुवाकोटको तादी गाउँपालिका अध्यक्षका उम्मेदवार किरणकुमार रिजालले आफूले निर्वाचन जिते पालिकामा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित हल्का पेय पदार्थलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने बताएका छन् ।
रिजालले चुनावी घोषणापत्रमार्फत बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ भित्रिन नदिने र स्थानीय रुपमा उत्पादन हुने दूग्धजन्य पदार्थका आधुनिक परिकार उपभोगमा ल्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै उनले मासु, अण्डा तथा अन्य कृषिजन्य उत्पादन बाहिरबाट ल्याउन रोक लगाउने र ती वस्तुको उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाइने घोषणा पनि गरेका छन् ।
‘बाह्य कृषि उत्पादन आयातलाई रोक्दै आफ्नै उत्पादनले गाउँपालिकालाई आत्मनिर्भर बनाइने छ । बहुराष्ट्रिय कम्पनीबाट गाउँपालिकामा भित्रने पेय पदार्थहरुलाई पूर्ण रुपमा रोक लगाई यस गाउँपालिकाकै, मासु, अण्डा लगायतका पशुजन्य खाद्य पदार्थ आयातमा रोक लगाइ तादी गाउँपालिकालाई आफ्नै उत्पादनबाट आत्मनिर्भर बनाइने छ’, घोषणापत्रमा रिजालले भनेका छन् ।
सुविधाको चार पांग्रे गाडी प्रयोग नगर्ने घोषणा
यस्तै उनले जनप्रतिनिधिहरुले सरकारी सुविधामा चार पांग्रे सवारी साधन प्रयोग नगर्ने प्रतिबद्धता पनि मतदातासमक्ष राखेका छन् ।
विकास निर्माणको कामलाई स्वच्छ र पारदर्शी बनाउन पालिकास्तरमा राष्ट्रिय योजना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इकाई खडा गर्ने योजना पनि रिजालको छ ।
रिजालले नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया 4