
२० वैशाख, डोटी । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटीको शिखर नगरपालिका–५ को वडा सदस्यमा रमा साउँद उम्मेदवार बनिन् । उनी ४१८ मत प्राप्त गरी विजयी पनि भइन् ।
सदस्य पदमा निर्वाचित भए पछि उनी नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यो पटक वडाध्यक्ष बन्ने सुर चल्यो । उनले वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै कांग्रेसको बैठकमा आफ्नो दाबी पेश गरिन् । पुरुष प्रधान समाजमा सुरुमा उनको दाबीलाई त्यति महत्व दिइएन । अन्ततः उनी वडाध्यक्षको उम्मेदवार भइ छाडिन् ।
९ वटा पालिका रहेको डोटीमा ६५ वटा वडा छन् । ६५ वटा वडामा वडाध्यक्षका लागि २३२ जनाले उम्मेदवारी दर्ता गराए । तर १० जनाले उम्मेदवारी फिर्ता लिए । हाल २२२ जना चुनावी मैदानमा छन् । जहाँ रमा एक्ली महिला उम्मेदवार हुन् ।
टिकट पाउन पार्टीभित्र लडाइँ लड्नु परेको रमा चुनाव जित्नेमा ढुक्क छिन् । भन्छिन्, ‘महिलाहरु पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वास गरेर जनताले मलाई मत दिनु हुनेछ भन्ने आशा लिएकी छु ।’
पाँच वर्षसम्म वडा सदस्य भएर काम गरेको अनुभवले आफूलाई वडाध्यक्षको नेतृत्व गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दिएको रमा बताउँछिन् । डोटीमा अन्य कुनै पनि दलले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाउन सकेका छैनन् ।
एमालेबाट गत निर्वाचित जितेकी एक जना महिला वडा सदस्य भन्छिन्, ‘आफूले पनि वडाध्यक्षमा दावी गर्दा पार्टीले जित्ने आधार खोजेर टिकट दिएन ।’ जित्ने आधार नभएको भन्दै पार्टीले दबाव दिएका कारण चुनावी मैदानबाट बाहिरिनु परेको उनको गुनासो छ ।
प्रतिक्रिया 4