
२० वैशाख, जनकपुरधाम । धनुषामा नेपाल प्रहरीका दुई जना पूर्वअधिकारी चुनावी मैदानमा उत्रेका छन् । एक जना सेवानिवृत्त प्रहरी नायव उपरीक्षक (डीएसपी) र अर्काे वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
केही महिनाअघि मात्रै डीएसपीबाट सेवानिवृत्त भएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र पूर्वएसएसपी गोविन्द साह विदेह नगरपालिकाको मेयरमा चुनावी मैदानमा छन् ।
महतोले नेपाली कांग्रेसबाट टिकट पाएका छन् । साहले पनि कांग्रेसबाटै टिकट पाउने आशमा केही महिनाअघि एसएसपीबाट राजीनामा दिएका थिए । तर, अन्तिम समयमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर उनी घरदैलोमा व्यस्त छन् ।
जित्ने दुवैको दावी
साह र महतो दुवै जना चुनाव जित्ने दाबी गर्छन् । ‘मलाई विदेहकै जनताले जनप्रतिनिधिमा आउनुपर्छ भनेपछि एसएसपीबाट राजिनामा दिएर आएको हुँ,’ साह भन्छन्, ‘त्यही भएर जनताले जिताउने विश्वास छ ।’
स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले विदेह नगरपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्र खस्किसकेको बताउँछन् । ‘यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था राम्रो छैन,’ उनले भने, ‘यी दुवै क्षेत्रलाई सुधार गर्दै कृषि क्षेत्रलाई राम्रो बनाउन मेयर पदमा उम्मेदवारी दिएको हुँ ।’
मिथिला नगरपालिकाका उम्मेदवार महतो भिजन र मिसन दुवै लिएर आएका कारण आफूले जित्नेमा विश्वस्त रहेको बताए । ‘यो नगरपालिकाको समग्र विकास गर्ने सोच लिएर आएको छु’ उनी भन्छन्, ‘शान्ति सुरक्षा र विकास सँगै जोडेर लाने कोशिस गर्छु । त्यही भएर जनताले मलाई जिताउनेमा विश्वस्त छु ।’
प्रतिक्रिया 4