
२० वैशाख, बागलुङ । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।
गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्रमा आर्थिक विकास क्षेत्र तर्फ कृषि तथा पशुपालन, सिंचाइ, सम्पदा संस्कृति एवं पर्यटन, उद्योग व्यवसाय तथा रोजगारी र बैंक, वित्तीय सेवा र सहकारीका विषयलाई जोड दिइएको छ ।
आगामी ५ वर्षमा एक घर एक धारा कार्यक्रमलाई टोलटोलमा पुर्याइने र श्रम वैंकको स्थापना गरी बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरिएको छ ।
सामाजिक विकासको क्षेत्रमा शिक्षा तथा नवप्रबर्द्धन, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण र युवा तथा खेलकुदका विषयलाई जोड दिइएको छ ।
पूर्वाधार विकास तर्फ सडक यातायात, आवास, भवन, बस्ती तथा शहरी विकास, वैकल्पिक ऊर्जा, सञ्चार तथा प्रविधि, फोहोरमैला व्यवस्थापनका तथा दीगो ढल निकासको विषयलाई प्राथमिकता दिइएको छ ।
प्रतिबद्धतापत्रमा वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन लगायतका विषय पनि उल्लेख छ ।
प्रतिक्रिया 4