
२० वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नका लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका हुन् । उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति यकिन गर्न सक्नु पर्ने बताए ।
मुलुक भित्रका हिमाल, तराई, पहाड, नदी, झरना, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला आएको उनको भनाइ थियो । उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनका लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको बताए ।
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य नभएको बताए ।
मन्त्री शर्माले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।
प्रतिक्रिया 4