+

स्कुल फोबिया : जब बालबच्चा कक्षाकोठासँग डराउन थाल्छन्

२०७९ वैशाख  २० गते १९:०० २०७९ वैशाख २० गते १९:००
स्कुल फोबिया : जब बालबच्चा कक्षाकोठासँग डराउन थाल्छन्

काठमाडौं । पहिलो पटक विद्यालय गइरहेका विद्यार्थी फुरुंग हुन्छन् । विद्यालय कस्तो हुँदो हो ? त्यहाँ के–के खेल्न र हेर्न पाइन्छ ? के–के गर्न पाइन्छ ? सम्भवतः उनीहरुमा उत्सुकता जाग्दो हो ।

तर दोस्रो पटक उनीहरुमा त्यो उमंग अनि उत्साह कायम रहन्छ त ?

दोस्रो वा तेस्रो दिन विद्यालय जानुअघि उनीहरु राजी–खुसीसाथ मञ्जुर हुँदैनन् । आमाबुवाले फकाइफुलाइ गर्छन् । तैपनि उनीहरु विद्यालय जान आनाकानी गर्छन् । रुन्छन्, चिच्याउँछन् । किन ?

मनोविद् करुणा कुँवर भन्छिन्, ‘नयाँ परिवेश, नयाँ मान्छे आदिले उनीहरुमा एक किसिमको असहज महसुस हुन्छ । त्यो असहज स्थितिलाई उनीहरुले सम्हाल्न सक्दैनन् ।’

तर बालबालिकामा विद्यालयप्रति वितृष्णा जाग्नुको पछाडि यति मात्र कारण छैनन् । हाम्रो कक्षाकोठा, सिकाइका विधि लगायत थुप्रै कुरा बालमैत्री हुँदैनन् । कतिपय शिक्षक–शिक्षिकाहरुले बाल मनोविज्ञान अनुरुप व्यवहार गर्न जान्दैनन् । सहपाठीहरु सहजै घुलमिल हुँदैनन् । यावत् कारणले उनीहरुले विद्यालयमा एक्लोपन महसुस गर्छन् ।

त्यसमाथि उनीहरु घरमा आफ्नो मर्जी अनुसार खेलिरहेका हुन्छन् । आमाबुवाको सामीप्य र स्पर्शमा रमाइरहेका हुन्छन् । घरमा उनीहरुले आत्मीयता र प्रेम अनुभव गरिरहेका हुन्छन् । यस्तो अनुभूति कक्षाकोठामा गर्न पाउँदैनन् ।

बालबालिका स्वभावैले चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । त्यही चञ्चलता र जिज्ञासाले उनीहरुलाई चकचक गर्न उक्साउँछ । कुनै नयाँ कुरा देख्नसाथ खेलाउने, टोक्ने आदि गर्छन् । यो पनि एक हिसाबले सिकाइकै प्रक्रिया हो । आफैंले हेरेर, छोएर, चलाएर उनीहरु केही न केही कुरा सिकिरहेका हुन्छन् । तर विद्यालयमा पुगेपछि उनीहरुलाई यस्तो छुट हुँदैन ।

विद्यालयमा अर्थात् कक्षाकोठामा उनीहरुलाई एउटा अनुशासनमा राख्ने गरिन्छ । धेरै चल्न, उफ्रिन, चकचक गर्न, रुन, कराउन आदि नियन्त्रण गरिन्छ । यसरी बाल मनोविज्ञान विपरीत गरिने व्यवहारले बच्चाहरु दुःखी हुन्छन् ।

अझ हाम्रो शिक्षा प्रणाली बढी सैद्धान्तिक र घोकन्ते छ । कलिला बच्चाहरुलाई खेल्न भन्दा पनि पढाउन हतार गरिन्छ । किताब र कपीमा केन्द्रित गराइन्छ । यस किसिमको पद्धतिले गर्दा उनीहरु त्यहाँ बस्न असहज महसुस गर्छन् । अर्को दिनदेखि विद्यालय जान तयार हुँदैनन् ।

खेल्दै सिक्न पाउँदैनन्

बालबालिकाले खेलको माध्यमबाट धेरै कुरा सिक्छन् । खेलकै माध्यमबाट जीवनोपयोगी ज्ञान आर्जन गर्छन् । सोझै पुस्तक पढाउने, लेख्न लगाउने भन्दा पनि उनीहरुलाई खेलको माध्यमबाट थाहै नपाइ पठनपाठन गराउनुपर्ने हुन्छ । तर यस किसिमको प्रवृत्ति हामीकहाँ छैन ।

‘बच्चाहरु खेल्न रुचाउँछन् । खेलकै माध्यमबाट कुनै पनि कुरा सिकाउँदा उनीहरुले राम्ररी ग्रहण गर्छन्,’ कुँवर भन्छिन्, ‘तर सोझै किताब घोकाउन थालेपछि उनीहरु विद्यालय जान मान्दैनन् ।’

अनि जाग्छ वितृष्णा

आमाको काखमा खेल्ने, रमाउने उमेरमै हामी बालबच्चालाई विद्यालय पठाउँछौं । कतिपयका लागि त यो बाध्यता हुन्छ भने कतिपयले देखासिकीमा यसो गर्छन् । भनिन्छ नि, घर नै बच्चाको पहिलो विद्यालय हो । आमाबुवा नै उनीहरुको पहिलो शिक्षक हुन् ।

तर अहिलेका बालबच्चाले घरमै खेल्ने, सिक्ने अवसर पाउँदैनन् । कलिलो उमेरमै उनीहरुलाई विद्यालय भर्ना गरिन्छ । विद्यालय उनीहरु बच्चा जस्तै हुन पाउँदैनन् । किनभने बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । तर उनीहरुलाई चाँडै ज्ञानी, आज्ञाकारी, जान्नेबुझ्ने बनाउने चक्करमा हामी अनुशासनको पाठ सिकाउन थाल्छौं । यही कुराले उनीहरुमा विद्यालयप्रति वितृष्णा भाव पैदा हुन्छ ।

विद्यालयमा सफलताका लागि प्रेरित गरिन्छ र प्रतिस्पर्धामा सामेल गराइन्छ । जबकि हरेक बालबच्चाको आफ्नै जन्मजात स्वभाव, क्षमता र खुबी हुन्छ । उनीहरुलाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गराउनु नै गलत हुन्छ । एकअर्कासँग तुलना गरेर को राम्रो, को नराम्रो भनी जसरी छुट्याउने गरिन्छ, त्यसले पनि उनीहरुमा निराशा पैदा गर्छ ।

‘विद्यालयको जुन परिपाटी छ, त्यसकै कारण बालबच्चाहरु निराश हुने र विद्यालय छाड्ने गरेको पाइन्छ,’ मनोविद् कुँवर भन्छिन् ।

कसरी खुसी र उत्साहपूर्वक बनाउन सकिन्छ ?

बालबालिकालाई किन विद्यालय जाँदैछु, किन पढ्नुपर्छ, किन लेख्नुपर्छ भन्ने कुराको ज्ञान हुँदैन । हामी जबरजस्ती विद्यालय पठाउँछौं र जबरजस्ती पढ्न लगाउँछौं । यसले उनीहरुको सर्वाङ्गीण विकास हुनु भन्दा बढी डर र ग्लानि पैदा गराइदिन्छ ।

त्यसैले बालबच्चालाई विद्यालयमा अभ्यस्त गराउनका लागि पठनपाठनमा रुचि जगाउनका लागि कक्षाकोठाको व्यवस्थापन नै बालमैत्री बनाउन जरुरी हुन्छ । त्यसैगरी शिक्षकले पनि बाल मनोविज्ञान बुझेर सोही ढंगले कुनै पनि कुरा बुझाउन वा सिकाउन सक्नुपर्छ ।

खेलेर, हाँसेर, कुरा गरेर उनीहरुलाई नयाँ–नयाँ कुरा सिकाउन सकिन्छ । शिक्षक हिटलर जस्तो भएर होइन, एकदमै हितैषी जस्तो भएर बालबच्चासँग घुलमिल हुनुपर्छ । यसरी घुलमिल भएपछि उनीहरुको मनोविज्ञान थाहा हुन्छ । जब उनीहरुको मनोविज्ञान थाहा हुन्छ, त्यही अनुरुप कसरी उनलाई सिकाउने, बुझाउने भन्ने कुरा तय गर्न सकिन्छ ।

बालबच्चालाई हामी डर देखाउँछौं । तर बच्चाले डर होइन प्रेमको भाषा बुझ्छन् । उनीहरुलाई प्रेमपूर्वक कुनै कुरा सिकाउन जरुरी हुन्छ । उत्तिकै हौसला र उत्प्रेरणाको पनि ।

उनीहरुले हरेक कुरा राम्ररी गर्न सक्दैनन् । तर राम्ररी गर्ने प्रयास गरिरहेका हुन्छन् । त्यसैलाई हामीले थप हौसला दिनुपर्छ । यसरी हौसला दिएपछि उनीहरु विद्यालयप्रति आकर्षित हुन सक्छन् ।

कस्तो वातावरण उपयुक्त ?

बालबालिकालाई उनीहरु जस्तै भएर सिकाउने, पढाउने गर्नुपर्छ । पढ्ने लेख्ने तरिकामा समय दिनुपर्दछ । हरेक विषयवस्तु सिक्नका लागि उनीहरुको रुचिमा ध्यान दिनुपर्छ । बालबालिकाको लागि पहिलो पाठशाला उसको घर हो । उसको  गतिविधिलाई निगरानी गर्नुका साथै उनीहरुका हरेक कुरा सुनिदिनुपर्छ ।

बालबालिकाले जसरी बुझ्न सक्छन् त्यसरी सिकाउनुपर्छ । मनोविद् कुँवर भन्छिन्, ‘कतिपय अवस्था विद्यालयका शिक्षकबाट नै बालबालिका असुरक्षित हुने गर्दछन्, उनीहरुलाई राम्रो नराम्रो स्पर्श, बानी, व्यवहार, तरिका सबैको शिक्षा दिनुपर्छ ।’

विद्यायलका क्रियाकलापबारे अभिभावक अनभिज्ञ हुनुहुँदैन । बालबालिका र अभिभावकको सम्बन्ध साथीको जस्तो भए उनीहरु विद्यालयमा लागेको अप्ठ्यारो सहजै बताउँछन् । सबै बालबालिकाको सिक्न सक्ने खुबी एकनासको हुँदैन । विद्यालयले पनि विद्यार्थीको सिक्ने र टिप्ने क्षमताको मूल्यांकन गरेर अध्यापन गरेमा बालबालिकाका लागि उपयुक्त वातावरण सिर्जना हुन्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

बालबालिका स्कुल
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?