
२० वैशाख, हेटौंडा । राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका दीपकबहादुर सिंहले जनता नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलसँग रुष्ट भएकाले आफूले चुनाव जित्ने दावी गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सिंहले हेटौंडा उपमहानगरको मेयरमा एमालेले पटक पटक जितेपनि विकास गर्न नसकेको र कांग्रेसलाई पनि भरोसा नगर्ने हुँदा आफूले चुनाव जित्ने दावी गरे । ‘म भ्रष्टाचार र सुशासनको पक्षमा छु, उपमहानगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ’, उनले भने, ‘कांग्रेस, एमालेलाई अब हेटौंडाबासीले पत्याउने अवस्था छैन ।’
उनले राप्रपालाई मतदानसँगै आफूलाई जिताएर हेटौंडा उपमहानगरको हरेक क्षेत्रको विकासका लागि जनताको चाहना अनुरुप काम गर्ने धारणा राखे । वृद्धवृद्धालाई घरघरमा बृद्धभत्ता पुर्याउने, कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइने, मेयर भएपछि आफूले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिने प्रतिवद्धता सिंहले जनाएका छन् ।
उनले आफू तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदा पनि हेटौंडाको विकासमा काम गरेको दावी गरे । हेटौंडाको विकाससँगै जनताका समस्यासँग जोडिन अब चुनावी अभियानमा धेरै अघि बढिसकेको उनले बताए ।
‘म धेरै अघि बढिसकेको छु, राप्रपाबाट यसअघि पनि २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा थोरै मतले पराजित भएको थिएँ, यसपटक जित्नेछु’ उनले भने ।
प्रतिक्रिया 4