
२१ वैशाख, गुल्मी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा कुनै पनि राजनीतिक दलहरूले घरमा झण्डा नराख्ने सहमति भएको छ ।
निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि राजनीतिक दलले घरमा कुनै पार्टीका झण्डा नराख्ने सहमति गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजनीतिक पार्टीले निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि एकताबद्ध भएको भन्दै धन्यवाद दिए ।
निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा समिति सक्षम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
धुर्कोटमा ११ वटा मतदान स्थल रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धुर्कोटमा १८ हजार ८७० मतदाता रहेका छन् ।
यो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादी, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
अध्यक्षमा कांग्रेसबाट महेन्द्र भण्डारी, उपाध्यक्षमा एकीकृत समाजवादीबाट कृष्ण सुनार उम्मेदवार छन् भने माओवादीबाट अध्यक्षमा भुपाल पोखरेल र उपाध्यक्षमा एमालेबाट सीता गिरी उम्मेदवार छन् ।
०७४ को चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । एमाले एक्लै निर्वाचन लडेको थियो । अघिल्लो पटक अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेका थिए ।
प्रतिक्रिया 4