
२१ वैशाख, डोटी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा डोटीका तीन पालिकामा ०७४ सालकै प्रतिस्पर्धी फेरि आमने–सामने भएका छन् ।
०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट दुर्गादत्त ओझा र कांग्रेसबाट दीपक कुमार विष्टबीच प्रतिस्पर्धा भएको थियो ।
ओझाले तीन हजार आठ सय ७४ मत पाएर निर्वाचित भएका थिए । विष्टले तीन हजार २२८ मत पाएका थिए । यस पटक दुवै जना फेरि प्रतिस्पर्धामा छन् ।
सायल गाउँपालिकाको अध्यक्षमा पनि दुई जना पुरानै उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेले निवर्तमान जिल्ला अध्यक्ष तेजबहादुर डुम्रेललाई फेरि उम्मेदवार बनाएको छ ।
कांग्रेसले पनि गत निर्वाचनकै प्रतिस्पर्धी धर्मराज जोशीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा एमाले उम्मेदवार डुम्रेल दुई हजार ६३१ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रमुख प्रतिस्पर्धी जोशीले दुई हजार ३१२ मत पाएका थिए ।
यस्तै, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कमलबहादुर गड्सिला र नेपाली कांग्रेसका डिलबहादुर बम फेरि प्रतिस्पर्धा गर्दैछन् । गत निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिलाले बाजी मारेका थिए ।
यस गाउँपालिकामा कांग्रेसले गत चुनावमा तेस्रो स्थान हात पारेको थियो तर प्रतिस्पर्धामा धेरै मत अन्तर भने थिएन । गड्सिलाले दुई हजार ८९ मत प्राप्त गर्दा बमले एक हजार ७१४ मत पाएका थिए । त्यतिबेला एमाले उम्मेदवार टेकबहादुर बमले एक हजार ८०८ मत प्राप्त गरेका थिए ।
अरु को-को छन् पुराना अनुहारहरु ?
कांग्रेसले दिपायल सिलगढी नगरपालिका, केआई सिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा पनि पुरानै अनुहार दोहोर्याएको छ । दिपायल सिलगढी नगरपालिकामा बाजीसिंह खड्का फेरि उम्मेदवार भएका छन् ।
गत निर्वाचनमा खड्का २७६ मतले पछाडि परेका थिए । एमालेका उम्मेदवार मञ्जु मलासीले चार हजार ४२८ मत पाउँदा खड्काले चार हजार १५२ मत प्राप्त गरेका थिए ।
केआई सिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष लोकेन्द्रबहादुर शाही पनि दोहोरिएका छन् । गत निर्वाचनमा शाही आफ्ना प्रमुख प्रतिस्पर्धी भन्दा दोब्बर मतान्तरले निर्वाचित भएका थिए ।
शाहीले तीन हजार १८८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज जोशीले एक हजार ५६३ मत मात्र प्राप्त गरेका थिए । केआई सिंह गाउँपालिकाका सबै ३७ पदहरुमा नेपाली कांग्रेसले एकलौटी जित हात पारेको थियो ।
पूर्वीचौकी गाउँपालिकामा गत निर्वाचनमा ४७ मतले मात्रै पछि परेका कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्याय फेरि चुनावी लडाईंमा होमिएका छन् । गत निर्वाचनमा एमाले उम्मेदवार दीर्घराज बोगटीले तीन हजार ६ सय १५ मत पाउँदा उपाध्यायले तीन हजार पाँच सय ६८ मत पाएका थिए ।
बडीकेदार गाउँपालिकामा चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार भक्तबहादुर साउँद पनि पुरानै उम्मेदवार हुन् । उनी गत निर्वाचनमा एमालेको तर्फबाट चुनावी मैदानमा थिए । उनी तीन सय २३ मतले पछि परेका थिए ।
कांग्रेस उम्मेदवार कृष्णबहादुर चन्दले दुई हजार तीन सय २१ मत पाउँदा साउँदले एक हजार नौ सय ९८ मत पाएका थिए ।
डोटी जिल्लाका नौ पालिमा प्रमुख पदका लागि ३६ र उपप्रमुख पदका लागि २९ जना भिड्दै छन् । जोरायल, सायल र केआई सिंह गाउँपालिकाका उपाध्यक्षहरु फेरि चुनावी मैदानमा छन् ।
जोरायलका उपाध्यक्ष जमुना बोहरा र सायलका उपाध्यक्ष बिष्ना सिंह एमालेबाट निर्वाचित उपाध्यक्ष हुन् भने केआई सिंह गाउँपालिकाका उपाध्यक्ष मीना बिष्ट कांग्रेसबाट निर्वाचित हुन् ।
प्रतिक्रिया 4