
२१ वैशाख, काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।
भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे पनि कसैले केही गर्न नसक्ने बताएका थिए । उनले बनाएको रमाइलो भिडियो सयौंले शेयर गरेका थिए ।
भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो ।
उनले एक जना आफन्तको छोराको पोशाक लगाएर भिडियो खिचेको पाइएको छ । म्यादी प्रहरीमा भर्ना हुनलाई कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ ।
प्रतिक्रिया 4