
२१ वैशाख, बैतडी । बैतडीमा यतिबेला किसानहरुले गहुँ भित्र्याउन भ्याईनभ्याई छ । किसानहरु यतिबेला खेतमै व्यस्त हुने गरेका छन् । समयमै वर्षा भएका कारण यस वर्ष गहुँबाली सप्रिएको किसानहरुले बताएका छन् । समय समयमा भएको वर्षाले खेती सप्रिएको सुर्नया ४ की हरिना महराले बताइन् ।
किसानहरुलाई गहुँ भित्र्याउन भ्याईनभ्याई भइरहेका बेला नेताहरु भने भोट माग्न खेतमै पुगी रहेका छन् । खेतमै औपचारिक चुनावीसभा गरेर मतदाता रिझाउन नेताहरु लागि परिरहेका छन् ।
बुधबार सिगास गाउँपालिका–४ को बूढाकोटमा नेकपा माओवादी केन्द्रले खेतमै चुनावी सभा आयोजना गर्यो । किसानहरु बढीजसो समय खेतमै हुने भएकाले खेतमै कार्यक्रम गरेको माओवादी केन्द्रबाट सिगास गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार लक्ष्मी चन्दले बताइन् ।

सुर्नया गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले खेतमै पुगेर चुनावी प्रचारप्रसार गरेका थिए । सुर्नया ८ सेलामा खेतमै गएर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारले चुनावी कार्यक्रम गरेका छन् ।
‘किसानहरुको पार्टी हो, किसानहरुको हक हितका मुद्दाहरु लिएर जाँदै छौं, खेतमै कार्यक्रम गर्दैछौं,’ गठबन्धनबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्टले भने ।
प्रतिक्रिया 4