
२१ वैशाख, काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका-११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको जानकारी दिए ।
उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । गृहमन्त्री खाणले घटनाका घाइतेलाई तत्काल उचित उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न पनि निर्देशन दिएको प्रजिअ पाण्डेले जानकारी दिए ।
बुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप ठक्कर खाँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।
प्रतिक्रिया 4