
‘बुहे बारिया… यानी दरबाजे, खिड्किया और दिवारे लाघकर आउँगी हावा बनकर’
पाकिस्तानी गायिका हदिका कियानीको यो गीत सन् १९९९ पछि धेरैले सुने । त्यसपछि बलिउडमा बुहे बारियाको लयसँग मिल्दाजुल्दा थुप्रै गीत आए ।
जस्तै प्रीति जिन्टा र अर्जुन रामपाल अभिनित सन् २००२ मा रिलिज भएको ‘दिल है तुम्हारा’को ‘दिल लगालिया मैने तुम्से प्यार करके’ होस् वा शाहरुख-सलमान खान तथा माधुरी दीक्षितको ‘हम तुम्हारे हैं’को ‘तुम्हारे सनम’को शीर्ष गीत ।
अहिले यो गीतको लय र सुरुवाती शब्दमा परिवर्तन गरिएको छ । यो गीतलाई भारतीय गायिका कनिका कपुरको स्वरमा सारेगम म्युजिक कम्पनीले ओरिजिनल भनेर बजारमा ल्याएको छ । गीतको बोल रहेको छ ‘बुहे बारिया ते नाले कन्दा टप्प के.. अवाङ्गी हवा बनके बुहे बारिया’ ।
गीतमा केही शब्द फरक भए पनि लय र बुहे बारियाको लाइन आएपछि पाकिस्तानी गायिका हदिकाले इन्स्टाग्राममार्फत उक्त गीतप्रति आपत्ति जनाएकी छन् । यस विषयमा भारतीय गायिका कनिका कपुरको पनि प्रतिक्रिया आएको छ ।
यस्तो छ पाकिस्तान-भारतमा गीत चोरीको आरोप-प्रत्यारोप
हदिकाले के लेखिन् ?
‘बुहे बारिया र मेरो एल्बम रौशनीका सबै गीतको प्रतिलिपि अधिकार मसँग छ । बुहे बारिया कविता मेरी आमाले लेखेकी थिइन् । यदि कसैले गैरकानुनी तरिकाले यो अधिकार आफ्नो भएको दाबी गर्छ भने मेरो टिमले एक्सन लिन्छ । हामीसँग बुहे बारिया आउनुभन्दा पहिलेका प्रतिलिपि सुरक्षित छन् । कुनै कम्पनीलाई यसको अधिकार दिइएको छैन । मेरो दस्तखत भएको गीतको प्रतिलिपि अधिकार कुनै कम्पनीलाई दिइएको छैन । म लामो समयसम्म यो मामिलामा चुपचाप थिएँ ।’
हदिकाको रौशनी एल्बम सन् १९९९ मा सार्वजनिक भएको थियो । १४ गीत समावेश एल्बम बजारमा आएपछि हदिकाको लोकप्रियता निकै बढेको थियो ।
‘फेरि एकपटक आमाले लेखेको गीत बेसरम तरिकाले चोरी गरिएको छ । न कसैले गाउने अधिकार माग्यो, न त कुनै रोयल्टी नै दियो । सजिलो गरी पैसा कमाउने बाटो रोज्दै उनीहरुले आमाको गीत पुनः रेकर्ड गरे । शाहरुख खान, प्रीति जिन्टा जस्ता कलाकारका फिल्ममा यो गीत धेरै पटक चोरी भएको छ । यो गीत हरेक गायकले स्टेजमा पैसा कमाउनका लागि मात्रै गाएका हुन् । केही गीतको युट्युबमा २० करोड बढी भ्युज छ । मलाई मात्र ओरिजिनल गीत ‘बुहे बारिया हदिका कयानी भनेर क्रेडिट दिन्छन्,’ उनले भनेकी छन् ।
उनले अगाडि लेखेकी छन्, ‘यदि मेरा गीत प्रयोग गर्न चाहनुहुन्छ भने मसँग इजाजत लिनुस् । अरुले गाएकोे गीत गाएर पैसा कमाउनु राम्रो होइन । म कुनै गायिका विरुद्ध छैन, मात्रै यो कामबाट निराश छु । जे भए पनि पाकिस्तानी संगीतको चोरी जारी छ ।’
कनिका कपुरले के भनिन् ?
हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा कनिकाले हदिकाको आरोप गलत भएको दाबी गरेकी छन् ।
‘अन्तराबाट लिएर अन्तिमसम्म यो गीत सुन्ने हरेकले यो नै वास्तविक गीत भएको थाहा पाउनेछन् । हामीले मात्रै हुकलाइन ‘बुहे बारिया’ लिएका हौं । हामीले पुरानो लोकगीतको हुक लाइन लिएका हौं । म र मेरो कम्पनीका अनुसार यो एक लोकगीत हो ।’
उनले भनेकी छन्, ‘हामीले यो गीतका धेरै भर्सन सुनेका छौं । तर अहिलेसम्म कसैले केही भनेका छैनन् । हामीले लोकगीतको कपी पेस्ट गरेका होइनौं, मात्र दुई पंक्तिबाट प्रेरणा लिएका हौं । यो आरोप संगीतकार तथा लेखक कुँवर जुनेजा र श्रुतिमाथि अन्याय हो । यदि कसैले मैले कसैको काम चोरें भन्छ भने त्यो गलत हो ।’
हदिकाको गीत चोरेर क्रेडिट नदिएको कुराले आफूलाई निराश बनाएको कनिकाले बताएकी छन् । ‘मलाई लाग्छ यसमा एकअर्कालाई आरोप लगाउनुभन्दा साथ दिनु उपयुक्त हुन्छ । मलाई नराम्रा सन्देश आइरहेका छन् । मान्छे थाहा नै नपाइकन निष्कर्षमा पुग्छन्, यसले मलाई निराश बनाएको छ,’ हिन्दुस्तान टाइम्ससँग कनिकाले भनेकी छन् ।
कनिका र हदिकाका अलग कुरा
कनिका कपुरले थुप्रै हिन्दी फिल्मका लागि गीत गाइसकेकी छन् । सन् २०२० मा लकडाउनका बेला कोरोना पोजेटिभ भएर पनि लखनऊको एक पाटीमा गएका कारण उनको आलोचना भएको थियो । उनलाई कोरोना फैलाएको आरोप लागेको थियो ।
कनिका लखनऊकी हुन् । उनका ‘बेबी डल, देशी लुक, सुपर गर्ल, पुष्पाको ‘ओ बोलेगा या ओ ओ बोलेगा’, चिटियाका लइया जस्ता गीत चर्चित छन् ।
कनिकाले बीबीसीलाई सन् २०१४ मा दिएको अन्तर्वार्तामा उनी लखनऊमा जन्मिएकी र त्यहीं पढेको बताएकी थिइन् । उनले पण्डित गणेशप्रसाद मिश्रासँग १२ वर्ष संगीत सिकेको उल्लेख गरेकी थिइन् । यसका साथै उनले संगीतमा डिग्री गरेको र १७ वर्षको उमेरमा बेलायत गएको जनाएकी थिइन् ।
हदिकाले पाकिस्तानको प्रसिद्ध संगीत रेकर्डिङ स्टुडियो ‘कोक स्टुडियो’मा धेरै गीतमा स्वर दिइसकेकी छन् । उनले आतिफ आसलमसँग गाएको गीत ‘होना था प्यार हुआ मेरे यार’लाई भारतमा समेत निकै मन पराइएको थियो । साथै उनले भारतको फवाद खानको सिरियल ‘जिन्दगी गुल्जार है’मा पनि एक गीत गाइसकेकी छन् ।
द न्युज डटकमसँगको कुराकानीमा हदिकाले आफूलाई अभिनेता अमिर खानको फिल्म ‘थ्री इडियट्स’ मनपर्ने फिल्म भएको बताएकी थिइन् । यसका साथै उनले टम ह्याक्सको ‘कास्ट अवे’ पनि मन परेको बताएकी थिइन् ।
उनलाई मनपर्ने पाकिस्तानी गायक नुसरत फतेह अलि खान हुन् । हदिका पाकिस्तानको रावलपिण्डीमा बस्छिन् ।
पाकिस्तान-भारत गीत चोरीको अतीत
पाकिस्तानबाट भारतमा संगीत चोरी भएको घटना यो पहिलो भने होइन । थुप्रै पटक एक मुलुकमा गाएको गीत अर्को मुलुकमा गाइएका छन् । यसको प्रमुख उदाहरण हो, मनोज मुन्तिसरले लेखेको ‘दिल गल्ती कर बैठा हैं, बोल हमारा क्या होगा’ । यो गीत जुविन नौटियालले गाएका हुन् ।
तर यो कवाली शैलीको गीत वर्षौं पहिले पाकिस्तानी गायक नुसरत फतेह अलि खानसहित अन्यले गाइसकेका छन् । यसलाई त्यतिबेला ‘दिल गल्ती कर बैठा हैं, बोल फकारा क्या होगा ।’
कुन-कुन गीत भए चोरी ?
फिल्म : सडक
गीत : तुम्हे अपना बनाने कि कसम खाई हैं
यो गीतको लय पाकिस्तानी कवि तथा संगीतकार मुस्तफा जैदीको गजल र गायक मुसरत नजीरले गाएको ‘चले तो कट हि जाएगा सफर आहिस्ता’बाट लिइएको बताइन्छ ।
फिल्म : इन्साफ अपने लहु से
गीत : ‘हवाहवा ए हवा’ र मुबारक फिल्मको ‘हवाहवा’
यी गीतका लय र शब्द ८० को दशकमा पाकिस्तानी गायक हसन जंहागीरले गाएको गीतसँग मिल्दोजुल्दो छ ।
फिल्म : दबंग
गीत : मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए
‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ जस्तै गीत सन् १९९३ मा पाकिस्तानी कलाकार उमर शरिफको फिल्म ‘मिस्टर चार्ली’मा पनि थियो । गीतको बोल थियो, ‘लडका बदनाम हुआ हसिना तेरे लिए ।’ यसै शैली र शब्दको गीत भारतका बप्पी लहिरीले पनि गाएका थिए ।
फिल्म : बेवफा सनम
गीत : अच्छा सला दिया तुने मेरे प्यारका
बेवफा फिल्मा समावेश यो गीत सन् १९७० मा आएको पाकिस्तानी फिल्म ‘विछोरा’मा नुरजहाले गाएको गीत ‘कोइ नवा लारा लाके मैनु बोल जा, झुठ्या वे एक और झुठ बोल जा’बाट लिइएकोे देखिन्छ ।
फिल्म : राजा हिन्दुस्तानी
गीत : कितना प्यारा तुझे रबने बनाया
सन् १९९७ मा निधन भएका नुसरत फतेह अलि खानले त्यसअघि एक कवाली गाएका थिए । गीतको बोल थियो, ‘किन्ना सोहणा तेनु रब ने बनाया, दिल करे देखता रहुँ ।’
नुसरत फतेह अलि खानका गीत र बलिउड
सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा एक सञ्चारकर्मीले नुसरतलाई तपाईंको गीत सबैभन्दा बढी कसले कपी गरेको छ भन्ने प्रश्न गरिएको छ । त्यसमा उनले भारतका विजु शाह र अनु मलिकले सबैभन्दा धेरै कपी गरेको बताएका छन् ।
संगीतकार विजु शाहले मोहरा फिल्ममा ‘तु चिज बडी है मस्त मस्त’ गीतमा संगीत भरेका थिए । १९९४ मा मोहरा फिल्म आउनुभन्दा पहिले नै नुसरतले एक कवाली गाएका थिए । जसको बोल थियो, ‘दम मस्त कलन्दर मस्त, मस्त.. सखी लाल कलन्दर मस्त मस्त ।’
त्यस्तै सन् १९९५ मा आएको फिल्म यारानाको गीत ‘मेरा पिया घर आया’ आउनुभन्दा पहिले नुसरतले एक कवाली गाएका थिए । जसको बोल थियो, ‘मेरा पिया घर आया ।’
भारतीय गीत पनि चोरी भएका छन्
संगीत भारतले मात्रै चोरी गरेको छैन । विदेशीहरुले पनि भारतीय गीत चोरेका छन् ।
सन् २०१२ आएको फिल्म ‘एक था टाइगर’को सैयराको लय २०१३ मा गायक माइल किटिकले रजिकामा लय लिएका थिए । सन् २०११ मा आएको रावण फिल्को गीत ‘छमकछल्लो’को लय २०१३ मा डारा बुबामाराले पलिएका थिए ।
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4