+
+

धनुषामा वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १२:३०

२२ वैशाख, जनकपुरधाम । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ ।

कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।

घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

‘घर बाहिर सुतिरहेको थिएँ । उनीहरुले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको छोरोलाई खोज्दै आएका थिए,’ चन्द्रनारायण भन्छन्, ‘यसो उनीहरुतर्फ हेरे लगत्तै आफूमाथि आक्रमण गरे ।’ गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको उनको भनाइ छ ।

यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । ‘टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरेका छन्,’ उनले भने ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाबारे जानकारी आएको छ । पीडितले लिखित जाहेरी दिएका छैनन्,’ उनले भने, ‘उहाँहरुले भनेको हुलिया अनुसारको व्यक्तिहरुको खोजतलास जारी राखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?