
काठमाडौं । नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ बिहीबारदेखि प्रसारण हुने भएको छ । यो रियालिटी शोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता-निर्देशकबीच प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट डकुमेन्ट्री बनाउन आफ्नो सात जनाको टोलीसँग देशका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही स्थानको डकुमेन्ट्री बनाउनेछन् ।
जसमा प्रदेश १ बाट टिम सहाना, मधेश प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुड रहेका छन् ।
‘इम्याजिन नेपाल’ प्रत्येक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजन र इम्याजिन नेपालको आधिकारिक युट्युब च्यानलबाट राति १० बजे प्रसारण हुनेछ ।
यो ट्राभल रियालिटी शोमा भूषण दाहाल मुख्य निर्णायक रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रुपमा रहनेछन् । महेन्द्र राइजको प्रस्तुति रहेको ‘इम्याजिन नेपाल’ १६ भागसम्म प्रसारण हुनेछ ।
प्रतिक्रिया 4