
२२ वैशाख, काठमाडौं । सहकारी संस्थाका केही सञ्चालकहरुले व्यक्ति अनुकुल मनपरी लगानी गरेका कारण सहकारी क्षेत्र नै बदनाम भएको अध्ययनले निष्कर्ष निकालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बिहीबार समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा सहकारी संस्थाहरु खराब अवस्था पुग्नुमा संस्थाका सञ्चालकहरु नै प्रमुख कारण रहेको निष्कर्श निकालिएको छ ।
समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वभाविक बढी मुल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ ।
समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को-अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभुत मुल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा माग दावी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गरेकी छिन् ।
सहकारीहरुमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नु पर्नेमा जोड दिदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको मन्त्री श्रेष्ठले बताइन् । सहकारी संस्थाहरुले सहकारीको मुल्य, मान्यता र सिद्धान्तले स्व-उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोग जस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारी विपरित हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरु समस्या ग्रस्त बनेको निश्कर्ष समितिले निकालेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने बताएका छन् ।
प्रतिक्रिया 4