+
+

दलका घोषणापत्रबाट हटे भ्यूटावर र प्रदेशद्वार

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख २२ गते १८:२०

२२ वैशाख, रोल्पा । ६ करोड खर्चेर भ्यूटावर बनाएको भन्दै आलोचना खेपेको नेकपा माओवादी केन्द्रले रोल्पा नगरपालिकामा ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चक्रपथ र भएकै सडकको स्तरोन्नतिका विषयलाई चुनावी घोषणापत्रमा महत्व दिएको छ ।

नगर रिङरोड, वडा वडाका मूल र सहायक सडकको स्तरोन्नति, केही रणनीतिक सडक कालोपत्रे र नगरपालिकाको केन्द्रबाट वडा कार्यालयसम्म पुग्ने सबै सडकलाई बाह्रै महिना गाडी चल्ने गरी ग्राभेल गर्ने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । उसले दोस्रो प्राथमिकतामा पुल, तेस्रोमा स्वास्थ्य क्षेत्र र चौथोमा शिक्षालाई राखेको छ ।

पर्यटन शीर्षकमा जनयुद्ध स्मृति टावर, रक गार्डेन, गुरुङ गाउँ गुरिल्ला ट्रेल, गुरुङ गाउँ सामुदायिक होम स्टे तथा डर्कवाङ जलासयलाई प्रोत्साहन गर्ने उल्लेख छ ।

रोल्पा नगरपालिकामा नेपाली कांग्रेसले कानूनको शासनलाई पहिलो प्राथमिकतामा राखेर घोषणा पत्र जारी गरेको छ । उसले विकास र समृद्धिको पहिलो शर्त कानूनको शासन हो भनेको छ । आवश्यकता र औचित्यतताको आधारमा नगर विकास गुरुयोजना निर्माण गरी त्यसैका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, खानेपानी, ढल निकास, उर्जा विकास, संचार, पर्यावरण लगायतका क्षेत्रमा कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने भनेको छ ।

उसले दोस्रो प्राथमिकतामा शिक्षालाई राखेको छ । शैक्षिक संस्थाको पुनर्संरचना र वर्गीकरण गरी विद्यालय शिक्षादेखि नै शोधमा आधारित सिकाई प्रणाली लागु गर्ने कार्यक्रम अघि सारेको छ । जसका लागि उसले नगरपालिकामा अनुसन्धान विभागको स्थापना गर्ने भनेको छ ।

त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका तर्फवाट गाउँपालिका अध्यक्षका उमेदवार कर्णवहादुर वाँठामगरले संवृद्धीको लागि स्वरोजगारीलाई जोड दिएको बताए । ‘पूर्वाधारका आधारभूत काम भइसकेकाले यसपटक रोजगारीलाई मुख्य प्राथमिकतामा राखेका छौं’, वाँठामगरले भने ।

राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन घोषणा पत्रमा भ्यूटावर, प्रवेशद्वार, शहीद स्मारक र सडकलाई प्राथमिकतामा राखेका थिए । सोही अनुसार रोल्पा नगरपालिकाले ६ करोड रुपैयाँ भन्दा बढी वजेट खर्च गरेर जनयुद्ध टावर स्थापना गरेपछि निकै विवादित भएको थियो ।

सामाजिक आर्थिक रुपान्तरणका मुद्धा छोडेर रोल्पामा मात्रै ५ वर्षभित्र ३ वटा भ्यूटावर निर्माण गरिएको थियो । दर्जनौं प्रवेशद्वार र शहीद स्मारकमा वजेट खर्चिएका उनीहरुले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन घोषणा पत्रमा त्यस्ता कुरालाई प्राथमिकताको सुचिबाट हटाएका छन् ।

यस पटकको निर्वाचन घोषणा पत्रमा भने उनीहरुले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य तथा आर्थिक विकासलाई प्राथमिकताको विषय बनाएका छन् ।

‘भ्यूटावर, प्रवेशद्वार जस्ता विषय घोषणा पत्रमा समावेश नगर्ने पार्टी निर्देशन छ’, नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले भने, ‘पूरा गर्न सकिने कुरा मात्रै घोषणा पत्रमा समावेश भएका छन् । जनतालाई अनावश्यक सपना देखाउँदा नैराश्य बढ्छ ।’

स्थानीय सरकारको स्रोतलाई आधार मानेर घोषणा पत्र जारी गरिएको रोल्पा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उमेदवार समेत रहेका थापाले भने ।

विकास नै सडक हो भन्ने मान्यताबाट दलहरु विस्तारै परिवर्तन हुन थालेका महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताइन् । दलहरु विस्तारै परिवर्तन हुँदै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने अवस्थामा आइपुगेको उनको भनाइ छ ।

रोल्पामा एक नगरपालिकासहित १० र रुकुम पूर्वमा ३ स्थानीय तह छन् । रोल्पालाई मध्य पहाडी र रुकुमलाई हिमाली जिल्ला मानिएपनि दुवै जिल्लाको विकासका मुद्धा मिल्दाजुल्दा छन् ।

रोल्पा र रुकुम पूर्वका १३ मध्ये १० स्थानीय तह नेकपा माओवादी केन्द्र, दुई स्थानीय तह नेकपा एमाले र एक स्थानीय तह नेपाली कांग्रेसले जितेको थियो । रुकुम पूर्वका तीन र रोल्पाका सात स्थानीय तह माओवादी केन्द्रले र रोल्पाका दुई नेकपा एमाले र रोल्पाकै एक स्थानीय तह नेपाली कांग्रेसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?