
२२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार बानेश्वरस्थित एक होटलमा सम्पादकहरुसँग अन्तर्क्रियाका क्रममा उनले चुनाव निष्पक्ष हुनेमा शंका व्यक्त गरे ।
मतपत्रको रङ हरियो बनाउने, उम्मेदवार बन्न जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने, तर प्रधानमन्त्री र मन्त्रीहरुले पार्टीको कार्यक्रममा हिँड्न पाउने आयोगको निर्णयप्रति पोखरेलले आपत्ति जनाएका छन् । ‘आज शेरबहादुर देउवा चितवनमा सभापतिका हैसियतमा भाषण गर्दै हिँड्नुभएको छ । सभापतिको हैसियतमा हिँडेको हो भने देशको प्रधानमन्त्री को हुन् त अहिले ?’, महासचिव पोखरेल प्रश्न गरे ।
देउवाले सभापतिको हैसियतमा चुनावी कार्यक्रममा हिँड्न पाउने भन्ने आयोगले जनप्रतिनिधिको हकमा भने आचारसंहिताको दोहोरो नीति अपनाएको पोखरेलले बताए । ‘प्रधानमन्त्री पार्टी सभापति भएर हिँडेको भए मन्त्रीहरु कार्यकर्ता भएर हिँड्नु भएको होला’, उनले भने ।
यसअघिका चुनावमा मतपत्रको रङ कालो, निलो र रातो हुने भएपनि अमुक दललाई लाभ पुग्नेगरी यसपटक हरियो बनाइएकोमा पनि महासचिव पोखरेलले आशंका गरे ।
जता गएपनि प्रचण्ड–माधव सहयोगी मात्रै
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन यता विकसित राष्ट्रिय राजनीतिबारे लामै ब्रिफिङ गरेका महासचिव पोखरेलले तत्काल पार्टी एकता नहुने बताए । महानगरपालिको नतिजामा चमत्कार हुने बताएका पोखरेलले यो चुनावबाटै मुलुक ध्रुवीकरणमा जाने बताए ।
तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकता तत्काल सम्भव नरहेको बताए । ‘प्रचण्ड र माधव नेपाल बोकेर चुनावमा जान सकिदैन । जसको कारणले भएकै बहुमत गुमाउनुपरेको छ, उनीहरुलाई लिएर जानु नैतिक पनि हुँदैन’, पोखरेलले भने ।
तर प्रचण्ड र माधव नेपालबाहेक नेताहरु एमालेमा प्रवेश गर्ने उनले बताए । एमाले अध्यक्ष केपी ओली भर्सेस अरुबीच भइरहेको चुनावमा प्रचण्ड र माधव नेपाल कांग्रेसको सहयोगी बनेको महासचिव पोखरेलले बताए । उनले अब प्रचण्ड र माधव नेपाल जता गएपनि सहयोगी मात्रै हुने बताए ।
माओवादी केन्द्र राजनीतिको इपिसेन्टरमा अब आउन नसक्ने भएकाले प्रचण्डले गठबन्धनमा जोड दिएको पोखरेलको निष्कर्ष थियो । त्यसैकारण अध्यक्ष प्रचण्डले एमालेले मिलौं भन्ने प्रस्ताव गरेको भन्ने अभिव्यक्ति दिएको पोखरेलले बताए ।
प्रतिक्रिया 4