
काठमाडौं । पर्यटन मन्त्रालयको निम्तोमा नेपाल भ्रमणमा आइपुगेका टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले आफ्नो आगामी फिल्मलाई नेपालमा छायांकन गर्ने भएका छन् ।
बिहीबार बेलुका स्वदेश फर्कनुअघि पर्यटनमन्त्री प्रेम आलेले आयोजना गरेको स्वागत समारोहमा उनले आफू नेपाली आतिथ्यता र प्राकृतिक सौन्दर्यबाट मोहित भएको बताए ।
टर्कीका व्यवसायी र फिल्म निर्माताको समूहसँग आइपुगेका ‘बाराबारोस’ फेम्ड अभिनेता दुज्याटनले पाँच दिन नेपालमा बिताए । पर्यटकीय नगरी पोखरा र त्यहाँको सौन्दर्य नियालेका उनले आफू नेपाली तालतलैया, हिमाल र पहाडबाट प्रभावित भएको समेत बताए ।
‘नेपाल र नेपाली निकै रोचक छन् । मेरो आगामी फिल्मलाई नेपालमै छायांकन गर्ने योजना सुनाउँदा निकै खुसी लागेको छ । म यसको लागि पर्यटन मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । सन् २०२३ को जुनमा नेपालमा फिल्म सुटिङ गर्ने जानकारी उनले दिए ।
आफ्नो पहिलो नेपाल भ्रमण भए पनि अन्तिम नहुने भन्दै उनले आफू पुनः नेपाल आउने तयारीमा रहेको बताए ।
अभिनेता दुज्याटनसहितको टर्किस टोलीलाई स्वागत गर्दै पर्यटनमन्त्री आलेले फिल्म छायांकनलाई पूर्णरुपमा सघाउन सरकार तयार रहेको बताए । दुज्याटनको नेपाल भ्रमणले टर्कीमा नेपालको पर्यटनको प्रचारप्रसार हुने र दुई मुलुकबीच प्रगाढ सम्बन्ध बिस्तार हुने मन्त्री आलेले बताए ।
अभिनेता दुज्याटन, टर्किस बिजनेस काउन्सिलका प्रतिनिधि मुस्तफा लगायतलाई ढाकाटोपी लगाइदिंदै मन्त्री आलेले स्वागत गरे ।
पर्यटन सचिव महेश्वर न्यौपानेले दुज्याटनको नेपाल आगमनले मुलुकको पर्यटन प्रबद्र्धनमा फाइदा पुग्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा समेत दुज्याटनका फ्यान फलोइङ धेरै देख्दा आफू उत्साहित भएको बताइन् ।
दुज्यानको नेपाल आगमन फिल्म उद्योगलाई मात्र नभएर नागरिक–नागरिक सम्बन्ध स्थापना गर्ने अर्थपूर्ण भ्रमण भएको भएको राणाले बताइन् । पर्यटन मात्र नभएर निजी क्षेत्रले अन्तर्राष्ट्रिय तहमा एग्रो क्षेत्रमा लगानी गरेको बताउँदै राणाले नेपाललाई फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्न मन्त्री आलेलाई आग्रह गरिन् ।
मन्त्रालय अन्तर्गतको टुरिजम रिभाइभल कमिटी संयोजक राजाराम गिरीले कोरोनाले प्रभावित नेपालको पर्यटनलाई उकास्न अन्तर्राष्ट्रिय सेलिब्रिटी र व्यक्तित्वलाई नेपालमा निम्तो गर्न लागिएको बताए । अभिनेता दुज्याटनको आगमनले नेपालको पर्यटन प्रवर्द्धन हुने आशा गिरीले व्यक्त गरे ।
आगामी सेप्टेम्बरमा मन्त्रालयले पर्यटन सम्मेलन गर्न लागेको र त्यसमा विदेशी सेलिब्रिटी तथा नेपालमा बढी पर्यटक आउने मुलुकका पर्यटनमन्त्रीलाई समेत निम्तो दिइने कमिटीले जनाएको छ । टर्किस अभिनेतासहितको टोली बिहीबार बेलुका नै स्वदेश फर्किएको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4