+
+

बाढी बर्सेनि आउँछ, चुनाव केही वर्ष बिराएर, दुःख दिनदिनै …

बाढी हरेक वर्षजसो आउँछ । चुनाव केही वर्ष बिराएर आउँछ । तर, बाढीले अस्तव्यस्त बनाएको पीडादायी जीवन दिनदिनै जिउनुपर्छ । साह भन्छिन्, ‘बर्खा आउँदैछ, यसपटक पनि केही भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १८:३१

२३ वैशाख,  इटहरी । २७ साउन २०७४ को मध्यरात इटहरीको बुढी खोलामा आएको बाढीले ६ जनाको ज्यान लियो । अधिकांश घरको धुरीमा चढेर बाँचे । बुढी खोला किनारका बासिन्दा लामो समय त्रिपालमुनि बस्न बाध्य भए ।

गैरीगाउँकी सानुमाया राईलाई त बाढीले लगातार पाँच घण्टासम्म बगायो । बाढीले दिएको असह्य पीडा र जोखिम पन्छाउँदै उनी बाँच्न सफल भइन् । तर, उनका दिदी भिनाजुसहित एक छोराको जीवनलाई त्यही बाढीले सधैंको लागि बगायो । दिदीको शव घरदेखि केही तल फेला परे पनि भिनाजु र छोरा भने अझै बेपत्ता छन् ।

साउन २८ गते दिदीको छोराको जन्मदिन थियो । जन्मदिन मनाउने योजनाबारे अघिल्लो रात छलफल भयो । दिदी आशादेवीले उनलाई भनिन्, ‘तेरो छोराको जन्मदिन, तेरै इच्छा अनुसार मनाउनू ।’

छलफल चलिरहँदा बाहिर मुसलधारे वर्षा भइरहेको थियो । भिनाजु राजकुमार राई सुतिरहेका थिए । छोरी कमला, छोरा निशान र निमेष पनि उनीहरूको गफमा मग्न थिए । रातको ११ बजेतिर उनीहरू सुते ।

साढे ११ बजे बाहिर होहल्ला हुन थाल्यो । बाढीले घरबाहिर निस्कन सक्ने अवस्था थिएन । उनीहरू घरको सिलिङमा झुन्डिए, तर बाँसको घरले बाढी वेग थाम्न सकेन ।

बाढीले घर बगायो र घरसँगै उनीहरू पनि बगे । सानुमाया केही मिनेट बयरको रुख समातेर अडिइन् । बयरको रुखलाई पनि बाढीले बगायो ।

५ घण्टा लगातार बाढीको वेगसँगै बगेकी उनी मुढोजस्तै किनारामा तैरन थालिन् । दाउराको खोजीमा निस्केका अनिल ऋषिदेवले उनलाई हात समातेर ताने । ऋषिदेवले उनलाई केवल हात मात्रै दिएका थिएनन्, त्यो त एकप्रकारले प्राण दान थियो, जसबाट उनले दोस्रो जीवन पाइन् ।

दुहबीको सामुदायिक अस्पतालमा उपचारपछि उनी घर फर्किइन् तर बाढीले बगाएका दिदी, भिनाजु र तीन वर्षको छोरा कहिल्यै घर नफर्कने गरी अलप भए ।

नाबालक गुमाएको खबरले उनीमाथि बज्रपात भयो । छोरी कमला र छोरा निशान छिमेकीको घरमा रहेको खबर पाइन् । उनीहरूलाई एसओएस बालग्रामले पढाइदिने जिम्मा लियो । अहिले पनि उनीहरू बालग्राममै अध्ययनरत छन् भने सानुमाया इटहरीको एक स्थानीय निजी विद्यालयमा पढाउँछिन् ।

पुनम साह ।

गैरीगाउँकै पुनम साहको पनि पीडा उस्तै छ । इटहरीको पूर्व लाइनमा उनी अहिले पनि त्रिपाल टागेर होटल चलाइरहेकी छिन् । बर्खा बढेसँगै उनको मनमा पनि आतंकको बाढी आउन थाल्छ । बाढीमा आफ्नी देउरानी र भतिजी गुमाएकी पुनम पुरानो दिन सम्झेर झस्किरहन्छिन् ।

‘सुतिरहेका बेला बाढी घरमा छिर्यो । केही छिनमै टेबल डुबाउने गरी बाढी आयो । म रुखमा अडेस लागेर धुरीमा चढेँ’ उनी अत्यासलाग्दो विगत सम्झँदै भन्छिन्, ‘मैले अरु ६ जनालाई धुरीमा तानेँ । अलि मोटी मेरी देउरानी छोरीलाई च्यापेर बसेकी थिइन् । ४ घण्टापछि बल्ल बाढी रोकियो । पछि देउरानी र नानी भुइँमा लडेको देखें।’

देउरानी र छोरीको घटनास्थलमै मृत्यु भयो । उनका देवर लालु साहको पनि केही महिना पछि मृत्यु भयो । आफन्त गुमाउनुको पीडा बर्खा नजिकिएसँगै बढ्छ । यतिका वर्ष बितिसक्दा पनि ढुक्क हुनेगरी खोला तटबन्धन नगरेकोमा उनी आक्रोश व्यक्त गर्छिन् ।

तटबन्धन र राहतको माग गर्दै उनले वडाध्यक्षलाई भेटिन् । तर वडाध्यक्षले अनपेक्षित जवाफ दिए । ‘भोट फिर्ता लैजाओ, तिमीहरूको भोट नभए पनि चुनाव जित्छु’ उनले भने ।

चुनाव आएसँगै नेताहरुको बोली फेरिएको छ । ‘अहिले नेताहरुले पीडा चाहिं सुनिदिन्छन्’ उनी भन्छिन्, ‘काम गर्न कोही आउँदैनन् ।’

वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई सिंचाइ आयोजनाले बाँध बाध्ने काम गरेको बताउँछन् । आयोजनाले २० लाख लगानी गरेर स्थानीय उपभोक्ता समितिमार्फत काम गरेको उनको प्रष्टोक्ति छ । ‘उपमहानगरले बजेट दिएन । अब निर्वाचन सकिएपछि बाँध तथा तटबन्धनमा ध्यान दिन्छौं’ वडाध्यक्ष भट्टराई भन्छन् ।

मुख्यतः इटहरीका २, ३, ४, ६, ९ र १० नम्बर वडा सबैभन्दा धेरै बाढी र डुबानको समस्याले ग्रसित छन् । निर्वाचनमा मत तान्ने रणनीति अन्तर्गत दलहरूले बाढी र डुबानको समस्यालाई घोषणापत्र र चुनावी नारामा महत्व दिएर समेटेका छन् ।

तर, चुनावपछि उनीहरु यसअघिजस्तै गायव हुने हुन् कि भन्ने आशंका मतदातामा देखिन्छ ।

बाढी हरेक वर्षजसो आउँछ । चुनाव केही वर्ष बिराएर आउँछ । तर, बाढीले अस्तव्यस्त बनाएको पीडादायी जीवन दिनदिनै जिउनुपर्छ । साह भन्छिन्, ‘बर्खा आउँदैछ, यसपटक पनि केही भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?