
२३ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा नेपाल आएका पर्यटकले यातायात सेवा पाउने भएका छन् । यसका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।
यो दिन नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश र्फकन लागेका पाहुनालाई होटेलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने छ । सोही अनुसार पास वितरण हुने भएको हो ।
यसबाहेक त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रयोजनमा भन्सार विभागको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पास जारी हुने छ ।
विमानस्थल अध्यागमन कार्यालयको प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा पास लिन सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा उडानसँग सम्बन्धित कार्यालयहरुले पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
यो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजिकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने भएका छन् । यो दिन आन्तरिक उडानका जहाज भने बन्द हुने छन् ।
प्रतिक्रिया 4