
२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए ।
एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि वाम तालमेलको निर्णय भएको हो ।
सहमति अनुसार, तीन दलले एमालेका मेयर उम्मेद्वार खडेन्द्र राईलाई समर्थन जनाएका छन् भने उपमेयरमा माओवादी केन्द्रका अमेम्बर राई छन् ।
भागबण्डाका क्रममा एमाले ५, माओवादी केन्द्र ४ र एकीकृत समाजवादीले एक वडाध्यक्ष पाएको छ । एउटा वडामा भने जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष उम्मेद्वारलाई एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेको छ ।
‘स्थानीय आवश्यकताका आधारमा वाम तालमेल गरेका छौं, त्यसैअनुसार प्रचार–प्रसार सहितका गतिविधि गरिरहेका छौं’, एमाले प्रदेश–१ का सदस्य भूपेन्द्र राईले भने ।
यो नगरपालिकामा सत्ता गठबन्धनले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4