
२४ वैशाख, काठमाडौं । रसिया र युक्रेन युद्धको असर नेपालबाट युरोप र अमेरिकामा हुने निर्यातमा देखिन थालेको व्यवसायीहरुले बताएका छन् । दुई महिनादेखि जारी युद्धका कारण चैत, वैशाख र जेठमा महिनामा हुने वस्तुको अर्डर प्रभावित भएको नेपाल निर्यात व्यवसायी महासंघले जनाएको छ ।
हरेक वर्ष बढ्दो क्रममा रहेको निर्यातपूर्वको अर्डर यसपटक रुस युक्रेन युद्धको छायाँमा परेको महासंघका उपाध्यक्ष दुर्गा बिक्रम थापाले बताए । रुस र युक्रेन युद्धका कारण नेपाली वस्तु निर्यात हुने युरोप र अमेरिकी बजारका वस्तुको उपभोग दर कम हुँदा अर्डर घटेको थापाले बताए ।
महासंघकाअनुसार नेपालबाट युरोप र अमेरिकामा वाषिर्क ५० अर्ब हाराहारीको गार्मेन्ट, पस्मिना, फेल्ट, हृयाण्डिक्राफ्ट, काठ र हस्तकलाका सामानहरु तथा हाते कागज निर्यात हुन्छ । वस्तु अर्डर हुने सिजनमै देखिएको मन्दीले व्यवसायीहरु चिन्तित बनेको उनले बताए ।
कोभिडपछि महँगीको माल वस्तु उत्पादन पुनः रसिया युक्रेन युद्धबाट प्रभावित हुने देखिएको निर्यात परिषद्का प्रथम उपाध्यक्ष नरेशलाल श्रेष्ठले बताए । युरोपका दुई ठूला मुलुकको युद्धका कारण युरोपमा हुने निर्यात २५ देखि ५० प्रतिशतसम्मले प्रभावित हुने देखिएको श्रेष्ठले बताए ।
‘युद्ध कुन तहसम्म पुग्ने हो भन्ने भयमा युरोपेली खरिदकर्ताहरु देखिएका छन्,’ प्रथम उपाध्यक्ष श्रेष्ठले भने ‘उनीहरुले कम्तीमा २५ देखि ५० प्रतिशतसम्मले अर्डर घटाएका छन् ।’
नेपालबाट खरिद गरेको वस्तु बिक्री गर्न नसकिने भयमा धेरै जसो युरोपेली पार्टीहरु रहेको श्रेष्ठले बताए । अर्कोतर्फ उनीहरुले नगद पैसाको जोहो गरेको पनि बताउने गरेको उनको अनुभव छ ।
युरोपमा कोभिडका कारण महँगो भएको कच्चा पदार्थ र सरकारले बन्द गरेको एलसीका कारण रोकिएको कच्चा पदार्थको आयात र महँगो निर्यात ढुवानी भाडाका कारण उत्पादनले पनि प्रतिस्पर्धा गर्न नसकेको परिषद्ले जनाएको छ । युरोपको तुलनामा अमेरिकी बजार भने निकै कम बिगि्रएको परिषद्को भनाइ छ ।
नेपालमा चैत देखि जेठसम्ममा गरिने युरोपेली र अमेरिकी बजारको माग अनुसारको वस्तुको अर्डर उत्पादन, फिनिसिङ र डेलिभरी गर्दा झण्डै तीन महिना समय लाग्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
दोब्बरले बढेको फ्रेड भाडा र माल वस्तु डेलिभरीमा लाग्ने लामो समयका कारण नेपाली उत्पादनले प्रतिस्पर्धी गर्न कठिनाइ हुँदै आएको व्यवसायीहरुको गुनासो छ ।
निर्यात प्रवर्द्धन गर्नका लागि कुल वषिर्क निर्यातको कम्तीमा एक प्रतिशत रकम सरकारले निर्यात मुलुकमा उत्पादन प्रवर्द्धनका लागि खर्च गर्नुपर्ने निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापाले माग गरे ।
उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालय अन्र्तगतको व्यापार तथा निकासी प्रर्वधन केन्द्रले पनि युरोपको खासगरी रसियातर्फको व्यापार प्रभावित भएको जनाएको छ ।
‘युक्रेनबाट ठूलो हिस्सा आयात भए पनि रसियातर्फको निर्यात चै असर गरेकै छ,’ केन्द्रका कामु प्रमुख सुयाश खनालले भने । कच्चा पदार्थ आयात भएर युरोपका अन्य मुलुकमा हुने निर्यात प्रभावित भएको बारे भने औपचारिक जानकारी नभएको खनालले बताए ।
प्रतिक्रिया 4