
धादिङको साविक सुनौलाबजार गाविसमा जन्मिएकी गंगादेवी श्रेष्ठको बाल्यकालमा छोरीलाई पढाउने घरपरिवार विरलै हुन्थे । आफूले भने आधुनिक सोचका बुवाका कारण पढ्न मात्र होइन, राजनीति पनि गर्न पाएको उनी बताउँछिन् ।
‘गाउँभरमा स्कुल जान पाउने दोस्रो छोरी थिएँ म,’ श्रेष्ठ भन्छिन्, ‘बुवाकै जोडबलले १३ वर्षको उमेरमा कक्षा ७ मा पुग्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा जोडिएँ ।’
३३ वर्ष त्यही राजनीतिको बाटो हिंडेर उनी यसपटक नीलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी बनेकी छिन् ।
२०४६ सालमा अनेरास्ववियु, प्रारम्भिक कमिटीको कोषाध्यक्ष बनेकी श्रेष्ठ २०५० मा नेकपा (एमाले), सुनौलाबजार गाउँ कमिटी सदस्य, २०५१ मा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य र २०५४ को स्थानीय निकाय निर्वाचनबाट वडा सदस्य बनिन् ।
महिला नेतृको छवि
आर्थिक कठिनाइका कारण उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन नसके पनि उनले राजनीतिक यात्रामा नेतृत्व विकास गरिरहिन् । २०५५ सालमा पार्टीको इलाका कमिटी सदस्य र २०५६ मा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी सदस्यमा निर्वाचित भइन् । २०५५ सालमा गठित महिला सुरक्षा दबाव समूहको धादिङ जिल्ला सचिव बनिन् ।
त्यो बेला देशमा महिलाको मानवअधिकार सम्बन्धी सवाल जोडतोडले उठिरहेको थियो । त्यसैक्रममा सन् २००१ मा काठमाडौंमा भएको नेपालसहित १७ देशका १०० जना महिला मानवअधिकार रक्षकको अन्तर्राष्ट्रिय भेलामा सहभागी भइन् ।
त्यही पृष्ठभूमिमा महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल गठन भयो । गंगादेवी श्रेष्ठले त्यसको सदस्य भएर काम गरिन् । त्यसरी महिला सहभागिता र अधिकारको पैरवीमा लागेकी उनी २०६५ सालमा पार्टीको अखिल नेपाल महिला संघ, धादिङ जिल्ला संयोजक बनिन् ।
२०७५ सालमा नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी श्रेष्ठ हाल सचिवालय सदस्य र पार्टीको वागमती प्रदेश कमिटी सदस्य छिन् ।
विजयको विश्वास
श्रेष्ठ २०७४ को स्थानीय तह निर्वाचनमा नीलकण्ठ नगरपालिकाको उपमेयर पदको प्रत्यासी थिइन् । उपमेयरमा पराजित भएकी श्रेष्ठ यसपटक मेयरको प्रत्यासी बनेकी छिन् ।
उक्त निर्वाचनमा मेयरमा विजयी भीमप्रसाद ढुंगाना १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रत्यासी अर्जुनकुमार श्रेष्ठले ६ हजार ९९० मत ल्याएका थिए ।
गत निर्वाचनमा जस्तै यसपटक पनि ढुंगानालाई नेकपा माओवादी केन्द्रले सघाउने निर्णय गरेको छ । सँगै, एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी पनि यसपटक ढुंगानाको साथमा छ । संख्यामा प्रतिकूल अवस्था भए पनि श्रेष्ठ आफू एक सक्षम महिला उम्मेदवारको रूपमा विजयी हुने विश्वास व्यक्त गर्छिन् ।
प्रतिक्रिया 4