
२३ वैशाख, जुम्ला । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना प्रवाहदेखि दैनिक कामसमेत प्रभावित भएको छ ।
हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार टावरको हर्न भन्ने सामग्रीमा क्षति भएको र उक्त सामान काठमाडौंबाट मगाउनु पर्ने भएकोले गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको हो । उनले भने, ‘सामाग्री काठमाडौंबाट नेपालगञ्ज पुगको छ । अब जहाँजमा जुम्ला आउँछ।’
कार्यालय प्रमुख श्रेष्ठले टेलिफोन बिग्रिएको खबरपछि नेपाल टेलिकमको टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको बताए ।
स्थानीय निकायको चुनावको समयमा टेलिफोन सेवा अवरुद्ध भएपछि राजनीतिक दललाई सञ्चार समन्वय गर्न सकस भएको छ ।
यस्तै यहाँका स्थानीयहरु कोही विरामी भएमा अस्पताल पुर्याउन तत्काल एम्बुलेन्स नपाइने स्थिति सृजना भएको छ ।
प्रतिक्रिया 4