
२३ वैशाख, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले अनलाइनखबरलाई जानकारी दिए ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए ।
बोगटीले भने, ‘कांग्रेस कार्यकर्ताको तुलनामा समाजवादीका कार्यकर्ता थोरै संख्यामा रहेछन् । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका रहेछन् । तर अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालयबाहिर आउने दबाव दिंदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आयो ।’
झडपमा समाजवादीका दुई जना, नेपाली कांग्रेसका ३ जना र प्रहरीतर्फ १० जना घाइते भएको उनले बताए । स्थिति नियन्त्रणमा लिन जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको उनले बताए ।
प्रतिक्रिया 4