
२४ वैशाख, रोल्पा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।
केपी ओली कमजोर भएकैले कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धनग गरेको उनको टिप्पणी छ ।
‘उहाँ पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’ पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक/एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।’
ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाउँदै नेता पुनले मुलुकलाई प्रतिगमनमा लैजान दुई पटकसम्म संसद विघटन गरेकाले ओली र उनको दल एमालेलाई जनताले दण्डित गर्ने उनले दाबी गरे ।
उनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिएका छन् । ‘स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले’ रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरूलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’
नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा गर्ने र वर्तमान व्यवस्था थप सुदृढ हुनेे विश्वास व्यक्त गरे ।
एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको उनको भनाइ छ ।
प्रतिक्रिया 4