
२४ वैशाख, डोटी । दिपायल सिलगढी नगरपालिका–६ का वडा सदस्यका उम्मेदवार सरिता दियाली चुनाव प्रचारमा हिँड्न अप्ठेरो लागेको बताउँछिन् ।
‘युवाहरु हुन्छन्, अलि अलि मदिरा सेवन गर्छन्, हो–हल्ला गर्छन्’ दियालीले महिलाहरु चुनाव प्रचारमा जान नमान्नुको कारणबारे भनिन्, ‘महिलाहरुले आफूलाई असुरक्षित महसुस गर्छन् ।’
उनले उम्मेदवारका आफन्त महिला समेत चुनाव प्रचार प्रसारमा जान नमाने दाबी गर्छिन् । अधिकारकर्मी सोनी परियार पनि चुनाव प्रचारका क्रममा महिलामाथि हिंसा भइरहेको बताउँछिन् । ‘प्रचार प्रसारमा गएका युवाले पनि महिलामाथि हिंसा गरेको देखिन्छ’ सोनी भन्छिन्, ‘महिलाहरुको शरीर छोएरै पुरुषहरुले भोट माग्ने गरिरहेका छन्, यो अलि मिलेन ।’ प्रचारका क्रममा दलका कार्यकर्ताले महिलालाई लक्षित गरी नारा लगाउने र जिस्क्याउने गरेको पनि उनले बताइन् ।
प्रचारमा हिँड्नेहरुले मदिरा सेवन गर्ने भएका कारण महिला उम्मेदवारहरुलाई प्रचार अभियान सञ्चालन गर्न समेत गाह्रो भएको अर्की उम्मेदवार दीपा श्रेष्ठ बताउँछिन् । उनी भन्छिन् ‘मदिरा सेवन गरेका हुन्छन्, बाटोमा हिँड्न पनि डर लाग्छ ।’ उनी निर्वाचनलाई ध्यानमा राखेर मदिराको बिक्री वितरण र सेवनमा रोक लगाउनुपर्ने बताउँछिन् ।
बागेश्वरी असल शासन क्लब (बास) नेपालले शनिबार डोटीमा आयोजना गरेको ‘निर्वाचन र लैङ्गिक हिंसा’ विषयक सम्वाद कार्यक्रमका अधिकांश सहभागीले निर्वाचनको समयमा महिला बढी असुरक्षित भएको धारणा राखेका छन् । उम्मेदवार छान्ने समयदेखि मतदानको समयसम्म महिला विभेदमा परेको बताएका थिए ।
निर्वाचनको समयमा महिलामाथि घर परिवारले पनि अनावश्यक दबाव दिने गरेको युवा सञ्जालका सदस्य निशा मलासी बताउँछिन् ।
‘परिवारबाटै फलानो पार्टीलाई भोट दिनु, फलानो पार्टीको प्रचार गर्नू भन्ने दबाव आउँछ’ उनी भन्छिन्, ‘महिलाहरुले स्वतन्त्र रुपमा आफ्नो मताधिकारको प्रयोग पनि गर्न पाउँदैनन्, यो पनि एक प्रकारको हिंसा हो ।’ उनले राजनीतिक दलहरुले रक्सी र मासु खुवाएर कार्यकर्तालाई प्रचार प्रसारमा लगाउने गरेको आरोप लगाइन् ।
पदम पब्लिक माध्यमिक विद्यालयकी शिक्षक कुन्ती साउँदले पुरुषले भनेको ठाउँमा महिलाहरुले मतदान गर्नैपर्ने बाध्यता रहेको बताइन् ।
कार्यक्रमका सहभागीले राजनीतिक दलबाट निर्वाचनको आचारसंहिता उलंघन भइरहेकामा समेत चिन्ता व्यक्त गरेका थिए । निर्वाचनमा बालबालिकाहरुको प्रयोग, आचारसंहिता विपरीत पोष्टर टाँस्ने, तोरण झुण्ड्याउने, झण्डा राख्ने काम भइरहेको सहभागीको गुनासो छ ।
डोटीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत डोटीका न्यायाधीश बिदुर काफ्लेले राजनीतिमा महिला सहभागिता बढाउन स्वयं महिला जागरुक हुनुपर्ने बताए ।
डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले आचारसंहिता उलंघन भएको विषयमा दलहरुलाई सचेत गराउँदा पनि नसच्चिएको वताए ।
‘उहाँहरुले पोष्टर, तोरण तुरुन्दै हटाउने प्रतिवद्धता गर्नुभएको हो’ विष्ट भन्छन्, ‘तर हटाउनुभएको छैन, उल्टो थप्नुभएको छ भन्ने कुरा आएको छ, हामी फेरि सचेत गराउँछौं ।’
प्रतिक्रिया 4