
२४ वैशाख, काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्थानीय तह निर्वाचनमा गठबन्धनको नाममा महिलामाथि अन्याय भएको बताएका छन् । आफूहरुले नीति नियम र कानुन निर्माणमा महिलाको सम्मानजनक सहभागिता गराए पनि गठबन्धनको नाममा अधिकार कुण्ठित गरेको आरोप लगाए ।
इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेले गरेको चुनावी सभामा उनले त्यसको जवाफ महिला र आम नागरिकले ३० वैशाखमा दिनुपर्ने धारणा राखे । सत्तारुढ दलले स्थानीय तह निर्वाचनमा तालमेल गर्दा धेरै पालिकाको प्रमुख र उपप्रमुख दुबै पुरुष उम्मेदवार भएकोतर्फ नेम्वाङले टिप्पणी गरेका हुन् । नेकपा एमाले पूर्वमेचदेखि पश्चिम महाकालीसम्म एक्लै चुनावी मैदानमा उत्रिएको उनले दावी गरे ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई कटाक्ष गर्दै नेता नेम्वाङले भने ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन ?’
केही समयअघि इलाममै आयोजित कार्यक्रममा नेता खनालले चुनावमा केपी ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेलाई धुलो चटाउने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेम्वाङले भने, ‘मलाई धुलोसंग एलर्जी छ । उहाँको अभिव्यक्ति आएदेखि हाच्छ्युँ शुरु भएको छ ।’
नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएको जिकिर गर्दै सीमा अतिक्रमणको विषयमा उनले लिएको अडान र काम हरेक नेपालीले जीवन पर्यन्त नभुल्ने दाबी गरे ।
प्रतिक्रिया 4