
२५ वैशाख, काठमाडौं । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा रसुवामा निर्माणाधीन टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण लामो समय निर्माणमा बाधा पुगेको आयोजनाले अहिले गति लिएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
मंसिरयता बन्दरगाहको भौतिक निर्माणको प्रगति झण्डै दोब्बर भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । मंसिरमा १८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति अहिले ३२ प्रतिशत पुगेको उनको भनाइ छ ।
समयमै निर्माण सकिएको भए यही वैशाखमा आयोजना सम्पन्न हुनुपर्ने थियो । कोभिडका कारण आफ्नो देश फर्कीएका चिनियाँ कामदारहरु मंसिरमा नेपाल फर्किए पनि आयोजना निर्माणले गति लिएको थियो । कोभिड र कोरोनासँगै नदी छेउमा निर्माणधीन आयोजनालाई बाढीले समेत क्षति पुर्याएको थियो ।
पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ । खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पुर्याएको थियो ।
निर्माणाधीन व्यापार पूर्वाधारमा चीन सरकारले डेढ अर्ब लगानी गरेको छ । आयोजना नेपाल चीन सीमा क्षेत्रबाट एक किलोमिटर नेपालतर्फ अवस्थित छ ।
प्रतिक्रिया 4