
२५ वैशाख, हुम्ला । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताबीच देशभर तिक्तता छ । तर हुल्लाको खार्पुनाथ गाउँपालिकामा भने यी दुई दलले अध्यक्ष र उपाध्यक्षामा तालमेल गरेर संयुक्त चुनावी प्रचार अभियान थालेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबहादुर हमालको नेतृत्वमा दुवै दलका उम्मेदवारहरु चुनावी अभियानमा सँगै जाने गरेका छन् ।
खार्पुनाथको अध्यक्षमा एमाले र उपाध्यक्ष पदमा एकीकृत समाजावादीलाई सघाउने गरी दुई दलले तालमेल गरेका हुन ।
खार्पुनाथ गाउँपालिकामा एमालेले अध्यक्ष पदका लागि प्रकाशबहादुर शाहीलाई उम्मेदवार बनाएको भए पनि उपाध्यक्षमा भने उम्मेदवारी दिएको थिएन । एकीकृत समाजवादीले उपाध्यक्षमा शक्तिसिंह ऐडीको उम्मेदवारी दिएको थियो ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि स्थानीय स्तरमा दुई पार्टी तालमेल गरेर जाने सहमति भएको हो ।
सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र तालमेल गरेपछि एकीकृत समाजवादीले एमालेको साथ खोजेको हो ।
यहाँ कांग्रेसले अध्यक्षमा कर्णबहादुर रावललाई र माओवादी केन्द्रले उपाध्यक्षमा ज्ञानबहादुर सिंहलाई उठाएको छ ।
प्रतिक्रिया 4