
२५ वैशाख, बागलुङ । गएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष चुनिएका मेयरसिंह पाइजाका छोरा र ड्राइभर हुन्, सितोरियो कराँते खेलाडी राजन ।
३४ वर्षीय यिनै राजन पाइजा यस पटकको निर्वाचनमा बावुको उत्तराधिकारी बनेका छन् । अर्थात् उनी यसपटक गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् ।
२०७४ सालको निर्वाचनमा बावु एमालेबाट गाउँपालिका अध्यक्षमा लड्दा छोरा राजन पाइजा नेकपा (माओवादी केन्द्र) को बागलुङ जिल्ला सदस्य थिए । तर, दुवै पार्टीको साझा उम्मेदवार भएकाले बावुलाई जिताउने अभियानमा लाग्न छोरालाई कुनै असजिलो भएन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त एमाले र माओवादी केन्द्रले देशब्यापी नै गठबन्धन गरे । पछि दुई पार्टी एकीकरण भएपछि बावुछोराको पार्टी नै एउटै भयो । सर्वोच्च अदालतको फैसलाबाट पार्टी विभाजन हुँदा राजन एमालेमै रहे, बावुछोरा एउटै पार्टीमा रहे ।
गाउँपालिका अध्यक्ष बुवालाई सफल बनाउन त्यसपछिको दुई वर्ष निःशुल्क काम गरेको छोरा राजन बताउँछन् । पालिका अध्यक्षको लागि सरकारले गाडीको व्यवस्था गरेपछि भने राजनले चालकमा नियुक्ति लिएर अर्को तीन वर्ष काम गरे ।
‘बुवा अब पुर्ख्यौली पेशा कृषिमा फर्कनुहुन्छ’ उनले भने, ‘गाउँपालिका चलाउन म अध्यक्षमा उठेको हुँ ।’
२०५४ सालमा माओवादीको सशस्त्र द्वन्द्व चर्किन थाल्दा राजनलाई बावुले सदरमुकाम बागलुङ बजार झारेर बोर्डिङ स्कुलको होस्टलमा राखेका थिए । द्वन्द्वकै कारण २०५८ मा पढाइ रोकिएपछि उनी बडिगाड फर्किएर भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भए ।
गाउँमा पढाइसँगै कराँते खेलमा पारंगत हुने कोसिसमा लागेका राजनमा ‘सामन्तवाद उन्मूलन गरेर जातीय र वर्गीय विभेद हटाउने युद्धमा होमिएको’ माओवादी पार्टीप्रति सहानुभूति बढ्न थाल्यो ।
‘त्यो बुझाइले हामी बावु–छोराको पार्टी नै फरक भयो’ उनी भन्छन्, ‘उहाँ यथास्थितिवादी एमालेमै सक्रिय हुनुभयो, म परिवर्तनको लागि लडिरहेको माओवादीमा लागें ।’
एसएलसीपछि एमाले बावुले माओवादी छोरालाई उच्च शिक्षा अध्ययनको लागि काठमाडौं पठाए । राजन रत्नराज्य लक्ष्मी क्याम्पसमा आईए पढ्दै कराँते खेल र राजनीतिमा पनि सक्रिय भए ।
त्यही बीचमा सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता भएर देशमा नयाँ माहोल सिर्जना भयो । राजन चटक्क पढाइ छाडेर कराँते खेल र माओवादी राजनीतिमा एकोहोरिए ।
उनलाई नेकपा एमालेले बागलुङ जिल्लाको सचिवालय सदस्य बनाएको छ । पार्टीबाट पाएको बडिगाड गाउँपालिका अध्यक्षमा लड्ने टिकट पनि त्यसैको परिणाम हो ।
उनी भन्छन्, ‘अब सबैको मन जितेर दुर्गम गाउँलाई कृषि, शिक्षा, स्वास्थ्य र खेलमार्फत समृृद्धिको बाटोमा डोर्याउन चाहन्छु ।’
गएको पाँच वर्षमा बुवासँगै खटेर आफ्नो भूगोल, जनताको दुःख, बाध्यता र अवस्था बुझेको उनी बताउँछन् । त्यो अवधिमा आफूले बाढीपहिरो, बेरोजगारीले बरालिएका युवा, शैक्षिक विभेद देखेको, गर्भवती, सुत्केरी, वृद्धवृद्धाको पीडा बुझेको उनी बताउँछन् ।
‘बुवाको कार्यकालमा सकेको गर्यौं, वास्तविक परिवर्तन अब गर्ने हो । यसमा सबैको सहयोग चाहिन्छ’ राजन भन्छन्, ‘अघिल्लो कार्यकालको आधा समय बुवालाई सिक्न, बुझ्न र समस्या पहिचान गर्नमै बित्यो । साढे दुई वर्ष त कोरोनाले खायो । केही काम सकिएका छन्, केही सुरु भएका छन् । अब त्यसलाई रफ्तार दिने हो ।’
विपन्न विद्यार्थीलाई मावि तहसम्म निःशुल्क आवास सुविधा दिएर शिक्षामा अगाडि बढाउने, पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने, कृषकका उत्पादनको बजारीकरण पालिकाले गरिदिने उनको योजना छ ।
ज्येष्ठ नागरिकका लागि घरमै आधारभूत स्वास्थ्य सेवा पुर्याउने, युवालाई सीप सिकाएर लघु उद्यममा जोड्ने, खेलबाट जीवन चलाउन चाहनेलाई गाउँपालिकाको साथ र संरक्षण जुटाउने योजना पनि उनले सुनाए ।
प्रतिक्रिया 4