
२५ वैशाख, धनगढी । २०७२ सालमा भएको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टी पहिचानको मुद्दा बोकेर स्थानीय तहको चुनावी मैदानमा छ । चौधरीले जेलबाटै श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नागरिक उन्मुक्ति पार्टी थारु समुदायको पहिचानको मुद्दा बोकेर चुनावी प्रचार प्रसारमा होमिएको छ ।
१३ स्थानीय तह रहेको कैलालीमा सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका धनगढीसहित ९ पालिकामा नागरिक उन्मुक्ति पार्टीले प्रमुख, उप्रप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।
पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीले धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारलाई तीव्र बताएको बताए । यी बाहेक गौरीगंगा नगरपालिकाका केही वडाहरुमा पनि उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।
संगठन विभाग प्रमुख चौधरीले उम्मेदवारी दिएकामध्ये धनगढीसहितका ७ पालिकामा चुनाव जित्ने दाबी गरेका छन् । उनकाअनुसार धनगढी, टीकापुर र भजनी नगरपालिका तथा बर्दगोरिया, जोशीपुर, कैलारी र जानकी गाउँपालिका जित्ने विश्लेषण गरिएको छ ।
‘एमाले, कांग्रेस र माओवादी केन्द्रले २०६२/६३ सालमा पहिचानको मुद्दालाई स्वीकार गरेर हस्ताक्षर गरे तर २०७२ सालको संविधानमा तीनै दलहरुले पहिचानको मुद्दा स्थापित गरेनन्,’ चौधरीले अनलाइनखबरसँग भने, ‘दलहरु उक्त मुद्दाबाट टाढिएकाले हामीले पहिचान बिना यो देशमा संघीयता अपरिपक्व र अपर्याप्त छ भन्ने मुद्दा उठाउँछौँ । यो थारु मात्र नभएर पहिचान चाहने जुुनसुकै समुुदायले पनि स्वीकार गरेका छन् ।’
उनले टीकापुर घटनामा राज्यले विभेद गरेका कुरा आम मानिसलाई थाहा भएको बताउँदै सोही कारण पूर्वी कैलालीको विकास, निर्माणमा बाधा पुुगेकाले अब आफ्ना मुद्दा स्थापित गरेरै छोड्ने जनाए । करीब २५ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेका गणेश चौधरी नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार छन् ।
गाउँपालिकाको उम्मेदवार बन्नकै लागि पत्रकारिता पेशा छाडेको बताउने चौधरी पनि चुनाव जित्नेमा आशावादी देखिन्छन् । ‘टीकापुर घटनामा निर्दोष मान्छेहरु फसेका छन् । त्यो घटनालाईं राजनीतिक बनाइनुपर्छ भन्ने हाम्रो मुख्य एजेन्डा छ,’ जानकी गाउँपालिकाका टोल–टोलमा पुगेर मत मागिरहेका चौधरी भन्छन्, ‘थारु समुदायको पहिचान स्थापित गर्न, अन्याय र अत्याचारलाई हटाएर शान्ति स्थापना गर्न मेरो उम्मेदवारी भएकाले सबैले सहयोग गर्छन भन्ने विश्वास गरेको छु ।’
जातीय, क्षेत्रीय र भेगीय रुपमा विभाजित भइरहेको अवस्थामा कुनै पनि ठाउँको विकास सम्भव नभएकाले त्यसबाट सबै नागरिकलाई उन्मुक्ति दिलाइने अभियानमा आफू भएको उनी बताउँछन् ।
विभाजित भएको समुुदायलाई एकताबद्ध बनाएर पहिचानका आधारमा विकास, निर्माणका काम थालिने चौधरीको भनाइ छ । अहिले उनी पहिचानसहितको एकताकै मुद्दा लिएर मत मागिरहेका छन् । आफूलाई रानाथारु मात्र नभएर पहाडी मूलका नागरिकले समेत मत दिने उनी बताउँछन् ।
थारुहट÷थारुवान आन्दोलनका क्रममा २०७२ सालको ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटनामा नाबालक र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुुरक्षाकर्मी मारिएका थिए । उक्त घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरी अहिले जेलमा छन् ।
जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका चौधरीले थारु समुुदायको पहिचानको मुुद्दालाई चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् । उनको पार्टीले थारु समुुदायको बाहुुल्यता रहेको पूर्वी कैलालीका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालाई प्रतिष्ठाको विषय बनाएर चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।
यी पालिकामा नागरिक उन्मुक्ति पार्टीको सक्रियता देखेर अन्य राजनीतिक दल समेत झस्किएको विश्लेषण हुन थालेको छ । अन्य पालिकाको तुलनामा जोशीपुर र जानकी गाउँपालिकामा थारु समुदायको बाहुल्य रहेको र यहाँ अन्य दलका नेताहरुले पनि सघाउने भएकाले जित पक्का भएको उन्मुक्ति पार्टीका नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4