
२५ वैशाख, चितवन । सत्ता गठबन्धनले सभा गरेको तीन दिनपछि नेकपा एमालेले पनि भरतपुर महानगरपालिकामा चुनावी सभा गर्यो ।
आइतबार नारायणगढको क्याम्पाचौरमा भएको सभामा बोल्ने नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका अभिव्यक्तिको जवाफ दिए । तर अरु नेताहरु मात्र होइन, आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसको चर्को आलोचना गरेका एमाले अध्यक्ष केपी शर्मा ओली समेत भरतपुरमा नरम देखिए ।
सत्ता गठबन्धनको तर्फबाट भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् । माओवादीलाई मेयरको उम्मेदवार छाडेकोमा असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयरमा उम्मेदवार बनाएका छन् ।
उम्मेदवारी फिर्ता गराउने प्रयास असफल भएपछि भरतपुरमा सभा गरेका सत्तारुढ गठबन्धन नेताहरुले चेतावनीपूर्ण भाषा बोले, जसले कांग्रेस कार्यकर्ताको आक्रोश बढाएको छ । त्यसलाई बुझेका एमाले नेताहरुले आइतबारको सभामा कांग्रेस कार्ताकर्ताको मन जित्ने प्रयास गरेका छन् ।
‘जिन्दगीभर कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त ! पोहोर पनि ढाट्यौं, यसपालि पनि ढाट्यौं गीतजस्तै । पहिले पनि उनैलाई जिताए, अहिले पनि उनै’ कांग्रेसका कार्यकर्ताप्रति साहानुभूति रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘उनलाई जिताए प्रचण्ड उत्साहित हुनुहुन्छ रे ! २० वर्ष गठबन्धन रहन्छ रे ! कांग्रेस कार्यकर्ताको हालत २० वर्ष छोरी बोक, त्यसपछि ज्वाइँ, भाइभतिजा बोक ! ’
२०७४ को चुनावमा पनि कांग्रेसले चर्को विवादका बीच माओवादीकी उम्मेदवार रेनुलाई नै समर्थन गरेको थियो । असन्तुष्ट मतमध्ये केही हजार रुख चिह्नमै खसेको थियो भने केही मत एमालेका उम्मेदवार देवी ज्ञवालीले पाएका थिए ।
यो पटक एमालेले राप्रपाको साथ पाएको छ । तर यो पटक माओवादीले आफ्नो मत बढाएको छ । त्यसैले एमालेले यो पटक कांग्रेसको असन्तुष्ट मत आफूतिर तान्ने मात्र होइन, त्यस्तो मत रेनुलाई जानबाट सक्दो रोक्ने रणनीति लिएको देखिन्छ । उम्मेदवारी दर्ताकै दिनमा मेयरका उम्मेदवार विजय सुवेदीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुलाई पनि माओवादीप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताको मत तान्ने प्रयासका रुपमा हेरिएको छ ।
‘भरतपुरमा आफ्नो ग्राउण्ड सकिएको चिन्ता कांग्रेसका नेतालाई छैन, तर कार्यकर्तालाई छ नि । ती कार्यकर्ताले कांग्रेस जोगाउन यसपटक एमालेलाई मत दिनुपर्छ र माओवादी हराउनुपर्छ’ एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली भन्छन्, ‘सधै माओवादी जिताए भरतपुरमा कांग्रेसको पालो कहिले आउने ?’
एमाले अध्यक्ष ओलीले पनि रेनु मेयरमा पराजित भए कुनै राजनीतिक दुर्घटना हुने प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै धम्क्याउनेहरुलाई हराउनुपर्ने बताएका थिए ।
विजयसँग हटलाइन सम्बन्ध
आइतबार एमाले नेताहरुले असन्तुष्ट कांग्रेस कार्यकर्तासँगै तटस्थ मत पनि तान्ने प्रयास गरेका छन् । गठबन्धन, त्यसमा पनि माओवादी नेताहरुले रेनु प्रचण्डकी छोरी भएका कारण शीर्ष नेतृत्वसँग सिधा सम्पर्कमा रहेको र भरतपुरको विकास निर्माणका लागि आवश्यक काम गर्न सकेको भाष्य बनाउन खोजेका छन् ।
एमाले नेताहरुले त्यसको पनि काउन्टर गरे । एमाले अध्यक्ष ओलीले पार्टीका मेयरका उम्मेदवार सुवेदी पनि पार्टी नेतृत्वको हटलाइन सम्पर्कमा रहेको बताए । सुवेदी माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह समेत गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले भने, ‘यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो भयो ।’
उनीभन्दा अघि बोलेका मेयरका उम्मेदवार सुवेदीले पनि आफूले चुनाव जिते गर्ने भरतपुरमा कामको योजना सुनाएका थिए । कोही पनि गरिबीको रेखामुनि नहुने, गरिबीको रेखामुनि भएकालाई भत्ता दिने, फुसको छाना हुनेलाई जस्तापाता लगाइदिने र गौरव गर्न लायक सहर बनाउने योजना सुनाएका हुन् ।
उनले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याएको आरोप लगाए । सभामा बोलेका राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले रेनु दाहालले महानगरलाई माओवादीको पार्टी कार्यालय बनाएको टिप्पणी गरे । उनले एमालेसँगको तालमेल राष्ट्रवादी शक्तिहरू बीचको भएको बताए ।
सभामा बोलेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको पाँच दलीय गठबन्धनको प्रेम छोटो र नक्कली चाउरे पिरती भएको टिप्पणी गरे । सभामा बोल्ने अधिकांश नेताले कांग्रेसप्रति नरम भाव राख्नुका पछाडि कांग्रेसको मत आफूतिर तान्ने प्रयासका रुपमा बुझ्न गाह्रो छैन ।
प्रतिक्रिया 4