
२६ वैशाख, जनकपुर । महिला हिंसा विरोधी अभियानबाट राजनीतिमा आएकी अनिता साहले डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् ।
२०६४ सालयता गैर–सरकारी संस्था महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सञ्जाल लगायतमा काम गरेकी उनी शिक्षामा स्नातक हुन् ।
अनिता साहको राजनीतिक जीवन भने जनमत पार्टी गठनसँगै सुरु भएको हो । जनकपुरधाममा भएको जनमत पार्टीको प्रथम महाधिवेशनले उनलाई केन्द्रीय सचिवमा निर्वाचित गरेको थियो ।
‘पार्टीले मेयरको टिकट दिएपछि चुनावी मैदानमा आएकी छु,’ उनी भन्छिन्, ‘जनमत पार्टी र मेरो पक्षमा जनलहर पनि बढेको छ ।’
जनकपुरमा बसेर महिला हकहितमा काम गरेको र आफू संलग्न पार्टी पनि लोकप्रिय हुँदै गएकाले जित्नेमा विश्वस्त रहेको उनले बताइन् ।
‘पुराना पार्टी र नेताहरूबाट जनता आजित भएको घरदैलो कार्यक्रममा पनि थाहा भयो’ साह भन्छिन्, ‘उनीहरू जताततै फोहोर थुपारेर बसे । जनताका अरू मुख्य समस्यामा पनि कुनै ध्यान दिएनन् । यस्ता कुँडाकर्कट सफा गर्न जनताले यसपटक हामीलाई जिताउँदैछन् ।’
आफू जिते सबभन्दा पहिला फोहोर व्यवस्थापन गर्ने साहले बताइन् । त्यसपछि खस्किंदो शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार गर्ने योजना उनले सुनाइन् ।
प्रतिक्रिया 4