+
+
उम्‍मेदवारको प्रोफाइल :

भूमिहीनलाई लालपुर्जा दिलाउने चुनावी एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ११:०७

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट टीकाराम खड्का उम्मेदवार बनेका छन् । उनी पार्टीभित्र सादा जीवन, उच्च विचार अनुसरण गर्ने नेताका रूपमा चिनिन्छन् । तुलसीपुर–१८, अक्कासीका खड्काले पार्टीभित्र होस् वा बाहिर, राजनीतिक एजेण्डामा निरन्तर संघर्ष गर्दै आएका छन् ।

खड्काको निजी जीवन पनि निकै संघर्षमय रह्यो । २०२३ मंसिरमा जन्मिएका उनले एक वर्षको हुँदा आमा र १४ वर्षमा बुवा गुमाए । त्यसपछि एक्ली दिदीलाई लिएर उनी जमीनदारको घरमा हली बसे । उनको युवाकाल हली बसेरै बित्यो ।

हलियाको पारिश्रमिकबाट उनले जनता संस्कृत माध्यमिक विद्यालय, विजौरीमा १० कक्षासम्म पढे अनि भारतको गोरखपुरबाट पूर्वमध्यमा पास गरे । त्यसपछि भारतमै काम गर्दै, पढ्दै गरेका खड्का राजनीतिक जीवन सुरु भएपछि स्वध्ययनमा केन्द्रित भए ।

उनको राजनीतिक यात्रा तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियुको सम्पर्कबाट सुरु भयो । अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै २०४३ सालमा सहसचिव भए, खड्का । पञ्चायत विरुद्धको आन्दोलनको क्रममा २०४४ सालमा जेल पनि परे ।

२०४५ मा अखिल नेपाल किसान संघको जिल्ला सदस्य भएसँगै पूर्णकालीन कार्यकर्ताको रूपमा भूमिगत भए । २०४६ सालको जनआन्दोलनपछि उनी रोल्पा जिल्ला कमिटी उपसचिव र जिल्ला सेक्रेटरी भए ।

त्यसरी रोल्पाको पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेलेका सेक्रेटरी खड्का २०५१ सालको मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बालाराम घर्ती मगरसँग पराजित भए ।

खड्काले एकपटक २०७२ सालमा सुकुम्बासी समस्या समाधान आयोग, दाङको अध्यक्षको रूपमा लाभको राजनीतिक नियुक्ति लिएर जम्मा तीन महिना काम गरे ।

२०७२ देखि २०७८ सम्म नेकपा (एमाले), दाङ जिल्ला कमिटी अध्यक्ष रहेका खड्का तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको पनि दाङ अध्यक्ष रहे । अहिले उनी एमालेको लुम्बिनी प्रदेश कमिटी सचिवालयमा छन् ।

तत्कालीन एमालेमा माधवकुमार नेपाल समूहका खड्का पार्टी विभाजन हुँदा एमालेमै बसे । १३औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दोहोरिन चाहेका उनले पार्टी महासचिव शंकर पोखरेलले त्यसमा साथ नदिने देखिएपछि २४ पुसमा सामाजिक सञ्जालमार्फत सांगठनिक जिम्मेवारीबाट विश्राम लिने घोषणा गरेका थिए ।

सर्वहारा नेता

टीकाराम खड्का अहिलेसम्म घरजग्गा जोडेका छैनन् । तुलसीपुर–१८, अक्कासीको ऐलानी जग्गामा सानो घर बनाएर बसेका उनी भन्छन्, ‘यही पाँच कट्ठा ऐलानी जग्गामा जोगभोत गर्दै आएको छु ।’

सर्वहारा नेता खड्काले यो चुनावमा सहानुभूतिको भोट पाउने एमालेको अनुमान छ । खड्काले पनि भूमिहीनलाई लालपुर्जा दिलाउने चुनावी एजेण्डा अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?