
२६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् ।
सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने धारणा राखे ।
निर्वाचन निष्पक्ष बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने पूर्वसभामुख ढुंगानाले बताए ।
‘निर्वाचन आयोगले, मतदाताले जतिसुकै निष्पक्ष निर्वाचन गर्न लागेपनि राजनीतिक दलहरुले निष्पक्षतामा ध्यान दिइराखेका छैनन् । चुनौती त्यही छ । यो भन्दा ठूलो चुनौती अर्को केही हुँदैन । यो निर्वाचन वास्तवमा हाम्रो प्रतिनिधि आउन गाह्रो निर्वाचन छ’ उनले भने ।
कतिपय मतदाताले मतको महत्व नबुझेको भन्दै पूर्वसभामुख ढुंगानाले मतदातालाई जागरुक बनाउने काम दलहरुकै भएको बताए । ‘म सँग पाँच सय भोट छ, यति ल्याउनुस् । म तपाईलाई दिलाइदिन्छु भन्छ उसले त्यो भोट बैंक रिजर्भ गरेर राखेको हुन्छ । त्यसमा निर्वाचन आयोगले केही गर्न सक्दैन । सुधार यस दिशामा गर्नुपर्ने त्यसमा पार्टीहरुकै प्रोत्साहन हुनुपर्ने भएको छैन’ उनले भने ।
पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गरे ।
प्रतिक्रिया 4