
२७ वैशाख, इटहरी । २०१५ साल २७ भदौमा ताप्लेजुङको सान्थाक्रामा जन्मिएका यामकुमार सुब्बा २०३५/३६ सालको विद्यार्थी बगावतबाट उदाएका वाम नेता हुन् ।
त्यसबेला काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा पढिरहेका उनी २०३६ सालमा पक्राउ परेर १७ दिन हिरासतमा परेका थिए । उनले स्नातक भने कानुनमा गरे, नेपाल ल क्याम्पसबाट ।
२०३५ सालमै नेकपा (माले) निकट जनसांस्कृतिक मञ्चमा आवद्ध भएका र ल क्याम्पसमा अनेरास्ववियु इकाई कमिटी सदस्य बनेका सुब्बाले नेकपा (एमाले)को संगठित सदस्यता भने २०५६ असोजमा मात्र लिए ।
२०६२/६३ सालको जनआन्दोलनमा एमाले, इटहरी नगर कमिटी सचिवको हैसियतमा संयुक्त संघर्ष समितिको नेतृत्व गर्ने क्रममा उनी १४ दिन प्रहरी हिरासत बसे ।
२०६६, २०६९ र २०७७ सालको अधिवेशनबाट तीनपटक इटहरी नगर अध्यक्षमा निर्वाचित सुब्बालाई यसपटक एमालेले इटहरी नगरपालिकाको मेयरमा उठाएको छ ।
सरल जीवनशैली, निरन्तरको राजनीतिक क्रियाशीलता र गत निर्वाचनमा इटहरीमा एमालेका मेयरका उम्मेदवारले पाएको मत संख्या (२२ हजार ६८९) सुब्बाको लागि अनुकूलताको रूपमा देखिन्छ ।
अघिल्लो निर्वाचनमा मेयरमा १९ हजार ९८५ मत पाएर दोस्रो भएको नेपाली कांग्रेससहित पाँचदलीय सत्ता गठबन्धन एमालेविरुद्ध एकजुट हुनु चाहिं सुब्बाका लागि मुख्य प्रतिकूलता भएको छ । यसबाहेक एमाले विभाजनको घाटा पनि उनले व्यहोर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया 4